हिमाल दैनिक
योगेशले माओवादी द्वन्द्धलाई ‘हिंसा’ भनेपछि माओवादी–एमाले सांसदबीच संसदमा जुहारी र होहल्ला

प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्र्धलाई हिंसा भनेपछि एमाले र माओवादी सांसदबीच विवाद हुँदा सभामुख देवराज घिमिरेलाई सदनको कारबाही सहज वातावरणमा अघि बढाउन हम्मेहम्मे परेको छ।

बुधबारको प्रतिनिधि सभा बैठकको बिशेष समयमा भट्टराईले माओवादी हिंसा नभएको भएका विधुत क्षेत्रमा अझै बिकास गर्न सकिन्थ्यो भन्ने अभिव्यक्ति दिएपछि माओवादी सांसदहरुले नियमापत्ति गरेका थिए।

माओवादी सांसद माधव सापकोटाले माओवादी आन्दोलनलाई हिंसा भन्नु संविधान विपरित भएको भन्दै रेकर्डबाट उक्त शव्द हटाउन माग गरे।

तर, एमाले नेता भट्टराईले माओवादी सशस्त्र संघर्ष हिंसा नै भएको पटक पटक दोहराएपछि माओवादी सांसदहरु थप आक्रोशित हुँदै उभिएर होहल्ला गरेर सदनको कारबाही अवरुद्ध पारेका थिए।

सो क्रममा सभामुख देवराज घिमिरेले अभिव्यक्ति टुङ्गाउन निर्देशन दिएपछि पनि भट्टराईले तत्कालीन समयमा माओवादीले धेरै हिंसा नै गरेको भन्दै त्यो आफ्नो पार्टीको राजनीतिक परिभाषा भएको धारणा राखे। उनले विद्युत ट्रान्समिशन, टेलिकम अफिसमा भएको आक्रमणदेखि सेना, प्रहरी र सर्वसाधारण जनताको हत्या हिंसा नै भएको भन्दै आफूले बोल्दै गर्दा अवरोध गर्नु पनि हिंसा नै भएको भन्दै प्रतिवाद गरे।

त्यसपछि माओवादी र एमाले सांसदबीच वाद–प्रतिवाद भएपछि सभामुख घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शव्दका बारेमा अनुसन्धान गर्न सचिवालयलाई निर्देशन दिए।

तरपनि संसदमा माओवादी र एमाले सांसदहरुबीचको वाद–बिवाद भने रोकिएन।

सभामुख घिमिरेले अन्तिम पटक भन्दै बस्नका लागि चेतावनी दिएपछि सांसदहरु बसेका थिए। त्यसपछि विशेष समयमा अन्य सांसदहरुले धारणा राखेका थिए।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update