हिमाल दैनिक
क्यानका डिजी अधिकारीलाई जोगाउन रास्वपा सहमहामन्त्री ढोका चाहार्दै हिँडेको सांसद बजगाईँको आरोप

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक (डिजी) प्रदीप अधिकारीलाई जोगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरु लागिपरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बजागाईँ यस्तो आरोप लगाएका हुन्।

रास्वपाका केही सदस्यहरुले हवाई क्षेत्रको समस्या समाधानको विषयमा छलफलका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलका लागि आजको बैठकको कार्यसूचि रहेकैबेला सांसद बजगाईँले क्यानका डिजी अधिकारी रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको रास्वपाकै मान्छे भएकोले उनलाई जोगाइदिन भन्दै एक सहमहामन्त्री आफूकहाँ आएको दाबी गरे।

क्यानको विषयमा यहाँ छलफल हुँदैछ। करिब १३ जना प्रतिपक्ष दलको सांसदले सार्वजनिक महत्व दर्ता गराएका छन्।

उक्त प्रसंग उल्लेख गर्दै उनले भने, ‘यसै पार्टीका सहमहामन्त्री हतारिएर म कहाँ आउनुभयो। क्यानका डिजीको बारेमा। उहाँ हाम्रो मान्छे, हाम्रो क्षेत्रको मान्छे, रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे, उहाँलाई जोगाउनुप¥यो भनेर म कहाँ अचानक आउनुभयो।’

रास्वपाको उक्त गतिविधिप्रति प्रश्न गर्दै उनले थपे, ‘म प्रश्न गर्न चाहन्छु, यो द्वैध चरित्रले देश कहाँ पुग्छ? नयाँ पार्टीसँग यत्रो ठुलो आशा छ जनताको भरोसा छ भनिएको छ यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ।’

उनले गरेको अभिव्यक्ति पश्चात रास्वपाका सांसद चन्दा कार्कीले गम्भीर आपत्ति प्रकट गरेकी थिइन्।

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update