हिमाल दैनिक
दाहाललाई उत्तेजनाको राजनीति नगर्न गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै महामन्त्री एवं सांसद थापाले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुनसक्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न सुझाव दिएका हुन्।

मंगलबारको बैठकमा दाहालले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले एकछिनको लाभको उत्तेजनाले आफैलाई जलाउन सक्ने भन्दै जिम्मेवार दलको जिम्मेवार नेताले बोल्दै गर्दा जिम्मेवारी बोधका साथ बोल्न पनि सुझाव दिए।

प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनुपर्ने धारणा राखे।

त्यस्तै महामन्त्री थापाल सहकारी ठगी प्रकरणमा आफुहरुकै कारण छानविन समिति गठन भएको र प्रमाण पनि संसदीय छानविन समितिमा दिएको जानकारी दिए।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्ना सभापति रवि लामिछानेका विरुद्ध सहकारी ठगीको प्रमाण भएको दाबी गर्ने गगनकुमार थापा लगायत कांग्रेसका सांसदहरुले एक सय ६ दिन हुँदा पनि प्रमाण बाहिर नल्याएको भन्दै प्रमाण बाहिर ल्याउन चुनौति दिँदै आएका थिए।

तर, थापाले आजको बैठकमा विगतमा लामिछानेले सार्वजनिक संचार माध्यममा बोल्दै आफूले संसदमा ९ मिनेट बोल्न पाए सबै स्पष्ट पारिदिने दाबी गरेको प्रसंगमा जसका कारण ९ मिनेटमा स्पष्ट पार्ने दावी गरेका रवि लामिछानले छानविन समितिमा ९ घण्टासम्म बयान दिनुपरेको स्मरण गराए।

केही दिनअघि सहकारी छानविन समितिमा लामिछानेले अपरान्ह ३ बजेदेखि मध्यरातको १ बजेसम्म वयान दिएर फर्किएका थिए।

जसलाई थापाले उल्लेख गर्दै उक्त समितिमा लामिछानेले सफाई पाएर फर्किएको नभई केबल वयान दिएर फर्किएको उल्लेख गर्दै फैसला आउन बाँकी नै रहेको बताए।

छानविन समितिका सभापति सूर्य थापा र अन्य सदस्यहरुले मेहनतका साथ काम गरिरहेको उल्लेख गर्दै उक्त समितिप्रति आफुहरुको पूर्ण विश्वास रहेको भन्दै थापाले तथ्य र प्रमाणको आधारमा फैसला आउने दिन कुरेर बसेको जिकिर गरे।

त्यस्तै महामन्त्री थापाले संसदमा तत्कालीन नेकपा (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ०७६ सालमा संसदमा दर्ता भएर ०७९ चैतमा राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको र उक्त विधेयकका कतिपय विषयमा आफूहरुले संशोधन प्रस्ताव राखेको भन्दै यसमा पनि अनावश्यक राजनीति नगर्न सबैलाई सुझाव दिए।

उनले उक्त विधेयकमा हदम्याद राख्ने सवालमा आफू र आफ्नो दल लगायत संसदमा रहेका सबै सदस्यहरुको समर्थन रहने विश्वास व्यक्त गर्दै यसबारे जस लिने होडबाजीमा नलाग्न र संसदलाई विश्वास गर्न आग्रह गरे।

साथै थापाले नीतिगत निर्णयका आधारमा भ्रष्टाचारीलाई जोगाउने काम कुनैै हालतमा स्वीकार्य नहुने बताए।

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update