हिमाल दैनिक
माओवादी अध्यक्ष दाहाल भन्छन्ः पार्टी नेतृत्व हस्तान्तरण गर्ने बेलै भएको छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा उपयुक्त नरहेको दाबी गरेका छन्।

शुक्रबार सुर्खेत बिमानस्थलमा प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले राम्रो टिम बनेपछि पार्टीको अर्को भूमिकामा जाने भन्दै तत्काल नै पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताए।

विगत झण्डै ३५ वर्षदेखि माओवादी पार्टीको नेतृत्व गर्दैआएका दाहालको कार्यशैली र गतिविधिलाई लिएर पार्टीभित्रैका कतिपय नेताहरुले उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन थालेपछि दाहालले त्यसको जवाफ दिने क्रममा यस्तो अभिव्यक्ति दिएका हुन्। उनले पार्टी नेतृत्वका लागि राम्रो टिम बनेपछि आफू पार्टीको अर्को भूमिका जाने भनेपनि त्यसरी जाने भूमिकासहितको पदबारे भने केही खुलाएनन्।

यसका बाबजूद उनले आफुलाई सधै पार्टीको नेतृत्व गरिरहने रुचि नरहेको र अध्यक्ष भन्ने पद आफ्ना लागि त्यति ठुलो पनि नभएको स्पष्टिकरण पनि दिए।

उनले माओवादीलाई कमजोर पार्न पार्टी फुट्को हल्ला चलाइएको भन्दै पार्टी फुट्ने भन्ने चर्चा गलत सावित भएको धारणा राखे।

सरकारमा रहँदा आफ्नै पार्टीका कतिपय नेताहरुलाई कमजोर बनाएर विभिन्न काण्डमा फँसाएको आरोप लगाउँदै केही नेताहरुले असारअघि दाहाल सरकारमै रहिरहेको बेला पार्टी विभाजनको आन्तरिक गृहकार्य गरेको हल्ला बाहिर आएको थियो।

त्यस्तै दाहालले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने चेतावनी दिए।

उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको र आफुले पनि सदनबाट प्रष्ट पार्ने काम मात्रै गरेको बताए।

सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए।

नेपालको संसदीय इतिहासमा संसदभित्रका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार गठन गरेको यो नै पहिलो घटना भने होइन। यसअघि २०५५ सालमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारमा एमाले सहभागी भएको थियो भने, ०६३ पछिको पुनस्थापित संसद र ०७० को दोस्रो संविधान सभा निर्वाचन पश्चात पनि कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार बनेर त्यही सरकारको पालामा देशमा नयाँ संविधान निर्माण भएको थियो।

सदनमा हिंसा सम्बन्धी विवादका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा दाहालले विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी अवमूल्यन नगर्न सचेत गराए।

बुधबारको संसदमा एमाले सांसद योगेश भट्टराईले माओवादीले चलाएको सशस्त्र संघर्षलाई ‘हिंसा’को संज्ञा दिएपछि सदनभित्र होहल्ला मच्चिएको थियो।

अहिले जनयुक्त शव्दको विरोध गर्नेहरुले नै कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई राम्रैसंग प्रसंशा गरेको उनले बताए।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update