हिमाल दैनिक
प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरुः चीन र डेनमार्कका लागि प्रस्तावित उम्मेदवारले सुनाए आफ्नोे कार्ययोजना

संसदीय सुनुवाइ समितिले बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ।

सरकारले केही समयअघि बिभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि संसदीय समितिमा सिफारिस पठाएपछि समितिले आइतबारदेखि प्रस्तावित उम्मेदवारहरुलाई बोलाएर सुनुवाई प्रक्रिया सुरु गरेको हो।

आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरलगाएतसंग समितिले सुनुवाई गरेको थियो।

सो क्रममा प्रस्तावित राजदूतहरुले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। चीनका लागि प्रस्तावित राजदूतका उम्मेदवार ओलीले चीन–नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफुले पहदकदमी लिने बताए।

नेपालका विभिन्न क्षेत्रहरुमा चिनिया लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थीत गर्नका लागि पनि आफुले काम गर्ने उनले बताए।

१७ देशका लागि प्रस्तावित राजदूतबिरुद्ध समितिमा १० वटा उजुरी परेका छन्। यसअघि समिति शुक्रबार उजुरीकर्ताहरुसंग छलफल गरेको थियो। समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाई गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका बनाएको छ।

सरकारले साउन १४ गते बिभिन्न १८ देशका लागि राजदूत सिफरिस गरेको थियो।

तर, अष्ट्रेलियाका लागि सरकारले पूर्व राजदूत कान्ता रिजाललाई सिफारिस गर्ने निर्णय गरेपनि उनको विषयमा केही प्रश्न उठेपछि मन्त्रिपरिषद कार्यालयले संसदीय सुनुवाइका लागि सूचि पठाउँदा रिजाल बाहेक १७ जनाको मात्रै नाम पठाएको थियो।

उनीहरुको विषयमा नियुक्तिपूर्व संविधान अनुसार संसदीय सुनुवाई गर्नु पर्ने व्यवस्था छ।

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update