हिमाल दैनिक
हवाई रुट अनुमातिबारे भारतीय पक्षसँग सकारात्मक छलफल भएको छः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणका क्रममा हवाई रुटको अनुमतिबारे सकारात्मक छलफल भएको बताएकी छन्।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउदै उनले आफ्नो भारत भ्रमण एउटा सदभावना भ्रमण (गुढवील भिजिट) मात्रै भएको भन्दै उक्त भ्रमणका क्रममा कुनै पनि महत्वपूर्ण विषय टुंगो लगाएर हस्ताक्षर गर्ने हैसियतमा नभएको बताइन्। ‘त्यस्ता विषयहरु प्रधानमन्त्रीकै भिजिटमा मात्रै हुने कुराहरु यहाँहरुलाई पनि अवगतै छ,’ उनले भनिन्।

विगतमा भएका दुइपक्षिय सहमति र सम्झौताहरु पनि नेपाल आफ्नै कारण (विशेषगरी देशभित्र छिटोछिटो सरकार परिवर्तन हुने क्रम)ले गर्दा बाइल्याटरल म्याकनिज्म (दुइपक्षिय संयन्त्र)हरु पनि निश्कृय हुँदा ओझेलमा पर्दैआएको स्थितिमा आफ्नो मुख्य ध्येय यसलाई कसरी पुनः सक्रिय बनाउने भन्नेतर्फ केन्द्रित रहेको बताइन्।

उनले भारतसँगको व्यापार गतिविधिलाई सहज र गतिशील बनाउन सीमानाकामा ल्याब स्थापना गर्नेबारे छलफल गरेको र यसबारे सम्बन्धित मन्त्रालयबिच नै छलफल र सहमति हुन सक्ने बताइन्।

त्यसैगरी आफूले भारतसंग हवाइ रुटको बारेमा दुई वटा रुटका बारेमा कुरा राखेकोमा यसबारे भारतीय पक्षले टेक्निकल टिमको मिटिङ गर्ने कुरा भएको भएको जानकारी दिएकी हुन्।

भैरहवा र महेन्द्रनगर हवाई रुटका बिषयमा आफुले भारतसंग कुरा गरेको उनले बताइन्।

त्यस्तै पन्चेश्वर बहुउद्देश्यीय परियोजनको बारेमा सहमति लगभग अन्तिम चरणमा पुगेको र अन्तिम चरणमा अघि बढाउने कुरा भएको जानकारी दिइन्।

इपीजी बिषयमा भने कुनै छलफल नभएको भन्दै उनले उपयुक्त समयमा यस प्रतिवेदनमाथि छलफल र कार्यान्वयन हुन्छ होला भन्ने आफू आशावादी रहेको बताइन्।

त्यस्तै भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता भएको र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणासहितको सन्देश हस्तान्तरण गरिएको पनि उनले जानकारी दिइन्।

भदौको पहिलो साता परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्रीको निमन्त्रणमा भारतको नयाँ दिल्ली भ्रमणमा गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतका सरकारी तथा राजनीतिक प्रतिनिधिहरुसँग भेटवार्ता गरि फर्किएकी थिइन्।

उक्त भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले मन्त्री राणासँग गरेको भेटवार्ता र त्यसक्रममा देखाएको सम्मानका कारण देशभित्र परराष्ट्रमन्त्रीको विषयमा विशेष चर्चा परिचर्चा हुँदैआएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update