हिमाल दैनिक
सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन सांसद खतिवडाको सुझाव

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हालै व्यक्त गरेको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा सत्तापक्षकै सांसदले आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्री गुरुङले केही समयअघि नेपाल प्रहरीका प्रमुख बसन्त कुँबरले व्यक्त गरेको अभिव्यक्तिको प्रतिवादमा उनको जिब्रो थुत्न पर्ने भनि दिएको भनाई आपत्तिजनक भएको बताए।

आफू सत्ता पक्षकै सदस्य भएको बताउँदै सरकारकै प्रवक्ता एवं सूचना तथा संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिन पहिले नेपाल प्रहरीका आइजीपीको जिब्रो थुत्नु पर्दछ भनेर दिएको अभिव्यक्ति आपत्ति जनक छ भन्दै उनले भने, ‘मन्त्रीहरुलाई अनुरोध गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस्। अन्त कहाँ कहाँ लगाउनु पर्ने हो ब्रेक लाग्दै गर्दा तर, मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस्। यसबारे जवाफ संसदमा दिइयोस्।’

यसैगरी उनले सोमबार मात्रै गण्डकी प्रदेशका निवर्तमान मन्त्री राजीब गुरुङ उर्फ दिपक मनाङ्गेले आफूले मन्त्री पद बिक्रीमा राखेको भन्ने प्रसंगप्रति लक्षित गर्दै यस्ता आपत्तिजनक अभिव्यक्तिको जवाफ सरकारसँग मागे।

‘अहिले सहरमा दुइटा कुराको व्यापक चर्चा छ। गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने सुनेका छौँ। योे चर्चाबारे कसले जवाफ दिनु पर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ।

मन्त्रीको पद पैसामा बिक्री गर्ने सुरुवात गरेको हो कि होइन? यस्ता अभिव्यक्ति किन आउँछन्? यसबारे सरकारले जानकारी देओस्,’ उनले भने।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधानले सुनिश्चित गरेको मौलिक हक अन्तर्गतको अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा सरकारकै प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।

उनले आफूहरुलाई बोल्न सिकाउँछु भन्ने सत्तारुढ दलका पुराना नेताहरुले पहिले आफ्नै मन्त्रीहरुलाई बोल्न सिकाउँदा राम्रो हुने भन्दै व्यंग्य गरे।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update