हिमाल दैनिक
सरकारविरुद्ध अनावश्यक प्रायोजित हल्ला फैलाउन खोजियोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारविरुद्ध नियोजित र प्रयोजितरुपमा अनावश्यक हल्ला फैलाउन खोजिएको आरोप लगाएका छन्।

निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको बिरोध गरेर बहादुरी देखाउन खोज्नेले नियोजित र प्रयोजितरुपमा सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजेको भन्दै रोष प्रकट गरे।

जनजरोकार रहेका सरकारी निकायमा अधिकार छ भन्दैमा दुुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हड्ताल गर्ने जस्ता काम उचित नभएको जिकिर उनले गरे।

नेकपा माओवादीले विगतमा चलाएको हिंसात्मक द्वन्द्ध र त्यसबारे माओवादी नेतृत्वबाट हुँदैआएको प्रतिरक्षाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले केहि बर्ष नेपालमा हिंसा भएको भन्दै केहि मान्छेहरुले त्यसको महिमामण्डन गरेको टिप्पणी पनि गरे।
उनले ठूला दुई दल मिलेर बनेको अहिलेको सरकारलाई सहज रुपमा काम गर्न कुनै कठिनाई नभएको दाबी पनि गरे।

मुलुकमा परिवर्तनका लागि नायकत्व लिएका पार्टीहरुको सुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास दिलाए।

भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुुष्कर्ममा सम्लग्न नहुन उनले कर्मचारीलाई निर्देशन समेत दिए।

उनले विगतमा कर्मचारीको उत्साह थप्नका लागि आफूूले एकै पटक २५ प्रतिशतसम्म तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले तलब बृद्धि गर्न सक्ने अवस्थामा नरहेको भन्दै कर्मचारीहरुलाई यसका बाबजूद पनि इमान्दार भएर देश र जनताको सेवा गर्न आग्रह गरे।

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर नागरिकलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको धारणा राखे।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update