हिमाल दैनिक
डेढ महिनापछि बल्ल बन्यो सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा तयारी कार्यदल

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच वर्तमान सत्ता संचालनका निम्ति न्यूनतम साझा कार्यक्रमको खाका कोर्दै अघि बढ्ने तयारी भएको छ।
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विस्थापित गर्दै कांग्रेस÷एमालेसहितको नयाँ सत्ता गठबन्धन गरी अघि बढ्ने सहमति गरेको झण्डै साढे दुई महिना पुग्नै लाग्दा सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच बल्ल न्यूनतम साझा कार्यक्रम बनाउने चासो र आवश्यकताको महसुस भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई सत्ताझेदार दलका शीर्ष नेताहरुबीचको छलफल पश्चात कांग्रेस र एमालेका दुई÷दुई जना प्रतिनिधि सामेल गरेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्ने निर्णय भएको बालुवाटार स्रोतले बतायो।

स्रोतका अनुसार, साझा कार्यक्रमको मस्यौदा तयारीका लागि गठित कार्यदलमा कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेका उपमहासचिवद्वय प्रदिप ज्ञावाली र विष्णु रिमाल रहेका छन्।

माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई विस्थापित गर्दै साउनको अन्तिम दिनमा सरकारको नेतृत्व लिन पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले अहिलेसम्म सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रमविना नै सरकार संचालन गर्दैआएका थिए।

यसरी सरकार संचालन हुँदा सत्ता साझेदार दलहरुबीच कतिपय विषयमा मतऐक्यता हुन नसक्ने स्थिति बनेपछि सत्ता साझेदार दलकै नेताहरुले न्यूनतम साझा कार्यक्रम तयार गरी अघि बढ्न नेतृत्वलाई दबाब दिँदै आएका थिए।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update