हिमाल दैनिक
उपसभामुख रानालाई हटाउने तयारीले बिच्कियो विपक्षी दल

असम्बन्धित व्यक्तिहरुलाई अमेरिका पठाउन अन्तर्वार्ताका लागि नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्राचार गरेको विषयमा विवादमा तानिएकी प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई सत्तारुढ दलले हटाउने तयारी गरेको समाचारले संसदमा विपक्षी दलहरुलाई आक्रोसित बनाएको छ।

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच पदिय आचरणविपरित उपसभामुखको हैसियतले दूतावासलाई पत्राचार गरेको आरोप लागेकी रानालाई पदबाट राजीनामा दिएर मार्ग खुलागरिदिन अथवा नगरेको खण्डमा संविधान र नियम बमोजिम पदिय आचरण विपरितको कार्य गरेको आरोपमा पदबाट हटाउने प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको समाचार प्रकाशित भएपछि मंगलबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलबाट विरोध र प्रतिरक्षाको कोशिश सुरु भएको हो।

मंगलबारको प्रतिनिधि सभा बैठकको सुरुवातमै ढ्यापढ्यापे समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक सन्तोष परियारले सदनभित्र बहुमतको आडमा सत्तारुढ दलले विपक्षी र साना दलहरुमाथि धावा बोल्ने कोशिश गरे आफूहरु यो मुद्दा लिएर जनतामाझ जाने चेतावनी दिए।

उनले आफूसँग अहिले बहुमत छ भन्दैमा आफ्नो दलको तर्फबाट उपसभामुखको भूमिकामा रहेकी रानालाई हटाएर संवैधानिक परिषदमा आफ्नो पक्षमा बहुमत कायम गराउने गलत मनसायले यदि उनलाई हटाउने कोशिश गरे त्यसको विरुद्धमा आफूहरुले सदनभित्र र बाहिर प्रतिरोध गर्ने बताए।

साथै उनले सांसदहरुको बहुमत भन्दा ठूलो जनताको मत भएको भन्दै भोलिका दिनमा जनताको आक्रोसले सत्ता र शक्तिको दम्भमा गरिने गलत कार्यलाई किनारा लगाउने चेतावनी दिए।

उपसभामुख रानाले गत वर्ष उपसभामुखको लेटरप्याडमा संयुक्त राष्ट्रसंघको कमिशन अन द स्टाट्स अफ वुमेनको ६७औँ सत्रमा एक महिलासहित चार असम्बन्धित पुरुषलाई भिसा प्राप्तिको अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्राचार गरेको समाचार सार्वजनिक भएको थियो।

साथै उक्त समाचारमा उपसभामुख रानाले उनीहरुबाट लाखौँ रुपैयाँ लिएर पत्राचार गरेपनि भिसा पाउन नसकेका पिडितहरुमध्ये केहीको पैसा फिर्ता गरेको उजुरी संसदीय समितिमा परेपछि उपसभामुख रानाको पदिय आचरणबारे सदन र सडकमा प्रश्न उठ्दै आएको छ।

तर, रास्वपाले उपसभामुख रानाको बचाउमा प्रतिवाद गर्दैआएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update