हिमाल दैनिक
सहकारी ठगी बारे तत्काल आफूमाथि छानविन गरी दोषी करार गर्न नेता गुरुङको चुनौती

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आफूविरुद्ध केही व्यक्तिले नियोजित रुपमा षडयन्त्र गर्दै सहकारी प्रकरणमा मुछेको भन्दै त्यसबारे तत्काल छानविन गरी दोेषी प्रमाणित गर्न चुनौती दिएका छन्।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले आफू एउटा खुल्ला किताब भएको दाबी गर्दै आफ्नाविरुद्ध चलाइएका नियोजित हल्लाहरुबारे जुनसुकै निकायबाट छानविन गरेपनि आफू त्यसका लागि तयार रहेको बताए।

गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङ प्रबन्ध निर्देशक रहेको मितेरी बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा उपसभापति गुरुङ पनि संलग्न भएको भन्दै सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रश्न उठाउनुका साथै विभिन्न संचारमाध्यममा समाचार आएपछि आजको बैठकमा विशेष समय लिएर गुरुङले यस्तो धारणा राखेका हुन्।

गुरुङले उक्त सहकारीको प्रवन्ध निर्देशक ज्योतिसँगै पाँच वर्षअघि नै व्यवहार नमिलेपछि सम्बन्ध बिच्छेद गरेको उल्लेख गर्दै पूर्व श्रीमतीसँगको विषयलाई लिएर आफ्ना विरुद्ध प्रचारबाजी गरिनु न्यायसंगत नभएको बताए।

यसका बाबजूद आफ्ना बारेमा उठेको प्रश्नले आफूलाई सदनमा जवाफ दिने अवसर मिलेको भन्दै तत्काल उक्त विषयमा सभामुख, गृहमन्त्री र सम्बद्ध निकायलाई छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि आग्रह गरे।

प्रस्तुत छ कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङले दिएको मन्तव्यको सम्पादित अंशः

सम्माननीय सभामुख महोदय,
 

सहकारीको रकम अपचलनको निश्पक्ष छानविन हुनुपर्छ भन्ने आवाजलाई जोडदार रुपमा उठाइरहेका बेला हिँजोदेखि केही संचारमाध्यमहरुमा मेरो नाम जोडिएर आएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

सम्माननीय सभामुख महोदय,
१) म माथि प्रश्न गर्ने मित्रलाई धन्यवाद छ। तपाईले प्रश्न गर्नु भएको कारण प्रष्टिकरणको अवसर मलाई मिलेको छ।

२) कुनै पनि व्यापार व्यवसायमा श्रीमान या श्रीमती दुईमध्ये एकजना जोडिँदा अर्कोलाई पनि मुछेर हेर्ने र बुझ्ने हाम्रो प्रचलन छ। त्यसकारण मलाई त्यसमा जोड्न खोजिनु अनौठो होइन।

तर, भूतपूर्व श्रीमान या भूतपूर्व श्रीमतीलाई भने त्यसरी जोड्न व्यवहारिक, कानूनी र नैतिक दृष्टिले पनि मिल्दैन भन्ने हेक्का राखिनु पर्छ।

सम्माननीय सभामुख महोदय,

३) बिबाह गर्नु के अपराध हो? होइन। मिल्न नसक्दा सम्बन्ध विच्छेद गर्नु अपराध हो? त्यो पनि होइन।
(नेल्सन मण्डेला र उनकी श्रीमती विनी मण्डेलाबिचमा पनि सम्बन्ध विच्छेद भएको थियो।
नेल्सन मण्डेलाकी पूर्व श्रीमती विनी मण्डेलाका केही मुद्दाहरु सम्बन्ध विच्छेदपछि पनि आए। तर, नेल्सन मण्डेलालाई त्यसबारे प्रश्न गरिएन)

बरु त्यहाँ यो भनियो कि (बैबाहिक सम्बन्ध कायमै छँदा पनि एउटाको अपराधको सजाय अर्कोलाई बोकाउन नैतिक कानूनले दिँदैन। सम्बन्ध विच्छेदपछि त झनै मिल्दै मिल्दैन।

सम्माननीय सभामुख महोदय,

४) जुन सहकारीको प्रबन्ध निर्देशक भनेर समाचारमा उल्लेख गरिएको ज्योति गुरुङजीसँग वर्षौँदेखि सम्बन्ध बिग्रीएपछि २०७६ साल फागुन २९ गते सम्बन्ध विच्छेद भएको कुरालाई हिँजोमात्र यही सदनमा एक जना माननीयले उक्त सम्बन्ध विच्छेद नक्कली भएको बताउनु भएको रहेछ।

हुन त जसले नक्कली कुरा गर्छ त्यसले अरुलाई पनि नक्कली देख्नु स्वभाविक नै हो। तर, माननीय सदस्यले जुन नक्कली भन्नु भएको छ, त्यसलाई नक्कली प्रमाणित गर्न चुनौती दिन चाहन्छु। घर परिवारमा दरार आएपछि १० वर्षे बच्चा हुर्काउनुको पिडा म आफैँसँग छ। सम्बन्ध विच्छेदपछि पूर्व श्रीमती गुरुङको बारेमो जानकारी हुने कुरै भएन।

५) मित्रले भनेझै संसदीय छानविन गर्नुपर्ने हुन्छ भनेपनि म तयार छु। मेरालागि यो सुवर्ण अवसर हुनेछ। तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो पदमा म छैन।

६) म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु। मेराबारेमा लागेको आरोपको सत्यतथ्य छाविन गरिदिन म सम्माननीय सभाामुख र माननीय गृहमन्त्रीजी अनि सम्बद्ध निकायहरुलाई आग्रह गर्दछु। विगतमा पनि कुनै आरोप लाग्दा सम्माननित अदालतबाट निर्दोष प्रमाणित भएको स्मरण गराउँदछु।

सम्माननीय सभामुख महोयद,

७) सहकारी ठगी सम्बन्धी प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटोभन्दा छिटो छानविन गर्न माग गर्दछु। जुन मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, संचालक समितिका सदस्यहरु कस÷कसलाई छानविन गर्नुपर्ने हो तुरुन्तै छानविन गरियोस्। यदि यस विषयमा म माथि कुनै आशंका छ भने तुरुन्तै म माथि पनि छानविन गरियोस्। कुनै पनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिनुहुन्न भनने मान्यतामा म सधैँ अडिग छु।

सम्माननीय सभामुख महोदय,

८) जसले सुशासन कायम गर्नको लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरु र नेपाल सरकारका कर्मचारीहरुको सम्पत्ति छानविन हुनुपर्छ भनेर यसै संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ, उसैमाथि यत्रो आरोप? जसले यसै संसदमा गैर कानूनी कारोबार रोक्नका लागि ५०० र १००० को नोट बन्दी गर्नुपर्छ भनेर आवाजहरु उठाइरह्यो उसैमाथि यत्रो षडयन्त्र? त्यसैले पुनः यो षडयन्त्रकारी कदमको निश्पक्ष छानविनको माग गर्दछु। धनराज गुरुङ खुल्ला किताब हो जस्ले जताबाट अनुसन्धान थालेपनि हुन्छ।
धन्वयवाद।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update