हिमाल दैनिक
उपसभामुख रानालाई राजीनामा दिएर मार्गप्रसस्त गरिदिन कांग्रेसको आग्रह

नेपाली कांग्रेसले पदिय आचरण विपरितको कार्य गरी विवादमा तानिएकी उपसभामुख इन्दिरा रानालाई राजीनामा दिएर छानविनका लागि मार्गप्रसस्त गर्न उपसभामुखलाई आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको अनौपचारिक बैठकले बिभिन्न असम्बन्धित व्यक्तिको नाम उल्लेख गरेर अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मितिका लागि पत्र लेख्ने कामले सदनको शिर निहुराएको भन्दै उपसभामुख रानालाई राजीनामा दिन आग्रह गरेको हो।

बैठकपछि कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले उपसभामुख रानामाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

यस बिषयमा सत्तारुढ दल र संसदीय दलको बैठक बसेर थप निष्कर्षमा पुग्ने उनले बताए।

उपसभामुख रानाले राष्ट्रसंघको कमिशन अन द स्टाट्स अफ वुमनको ६७औं सेशनमा सहभागी हुन पाँच जना असम्बन्धित व्यक्तिलाई भिसा प्रक्रियाको अन्तर्वार्ताको मिति अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावासलाई उपसभामुखको लुटरप्याडमा पत्र पठाएकी थिइन्।

उपसभामुखले असम्बन्धित एक महिलासहित चार पुरुषलाई अमेरिका पठाउन गरेको पत्राचारका बाबजूद उनीहरुको भिसा आउन सकेको थिएन।

यसरी भिसा प्रक्रियाका लागि रानालाई पैसा बुझाएर पनि भिसा नमिलेपछि पाँच जनामध्येकै एक महिलाले आफूले दिएको ९ लाख रकम फिर्ता गरिदिन भन्दै राना आबद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा उजुरी दिएपनि उक्त विषयलाई पार्टीले गुपचुपमै राखेको थियो।

तर, केही समयअघि उक्त विषय बाहिर आएपछि उपसभामुखको पदिय आचरणबारे प्रश्न उठ्दै आएको थियो।
त्यस्तै उहाले सहकारी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि छानबिन गराउन तयार रहेको भन्दै दोषी भए कारवाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको धारणा घिमिरेले राखे।

उनले कानूनी रुपमा सम्बन्धबिच्छेद भएपछि त्यसमा वहस गर्न आवश्यक नरहेको उल्लेख गरेपनि उपसभापति आफैंले छानबिनको लागि तयार रहेको धारणा राखिसकेको अवस्थामा यसलाई पार्टीले छानविनलाई सहज रुपमा लिने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update