हिमाल दैनिक
पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेसा गोवद्र्धन सरकारबाट नगद पुरस्कारसहित सम्मानित

पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवद्र्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पलेसालाई रु ६५ लाख पुरस्कार राशीसहित पुरस्कृत गरेका हुन्।

मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाई प्रदान गरिएको हो।

यस्तै खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हाँसिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए।

उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हाँसिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताए।

प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रको बिकासका लागि वर्तमान सरकार गम्भीर रहेको समेत धारणा राखे।

त्यस्तै कास्य पदक विजेता पलेसाले आफु र टीमको मेहनतका कारण पदक प्राप्त सफल भएको भन्दै आगामी दिनमा पनि राम्रो खेल प्रदर्शन गर्ने बताइन्।

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काश्य पदक जित्न सफल भएकी थिइन्। उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update