हिमाल दैनिक
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको मन्त्रिमण्डलमा कांग्रेसका चार मन्त्रीको प्रवेश

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो नेतृतवको मन्त्रिमण्डलमा नेपाली कांग्रेसलाई समावेश गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन्।

गत असार १७ गते संघीय सरकार गठनमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको सहमति बमोजिम कोशी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका कार्कीले बल्ल कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ दिलाउँदै सरकार विस्तार गर्न सफल भएका हुन्।

केन्द्रीय तहमा नेताहरुबीच भएको सहमति बमोजिम शुक्रबार मुख्यमन्त्री कार्कीले कांग्रेसका भुपेन्द्र राईलाई भौतिक पूर्वाधार तथा विकास मन्त्री, खगेनसिंह हाङगामलाई उद्योग, कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डललाई पर्यट, वन तथा वातावरण मन्त्रीमा नियुक्त गराए। यसैगरी कांग्रेसका प्रदेश सांसद भूमि प्रसाद राजवंशीलाई भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको सपथ दिलाए।

आज भएको मन्त्रिमण्डल विस्तार पश्चात.कोशी प्रदेशमा मन्त्रिमण्डलको सङ्ख्या दश पुगेको छ।

कोशी प्रदेश सरकारमा अब स्वाथ्यमन्त्री र एक राज्यमन्त्री नियुक्त हुन बाँकी छ। कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयहरु मध्ये अल्पमत पक्षधर समूहका नेता शेखर कोइराला समुहबाट भने मन्त्रिमण्डलमा कोही पनि सहभागी हुन पाएका छैनन्। कोइराला समूहले मन्त्रिमण्डलमा आफ्नो समूहका सांसदलाई कम्तिमा दुईवटा मन्त्रालय नदिएसम्म मन्त्रिमण्डलमा नपठाउने अडान लिँदै आएको बताइएको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update