हिमाल दैनिक
संविधान र लोकतन्त्रविरुद्ध केही आशाधारीहरु खुलेआम कराइरहेका छन्, सजग बनौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानको विरुद्धमा ठूलो शक्ति भयानक षडयन्त्रका साथ लागेको आरोप लगाउँदै त्यसलाई परास्त गर्न पार्टीपक्तिलाई एकताबद्ध हुन निर्देशन दिएका छन्।

शनिबार काठमाडौंमा एमालेले आयोजना गरेको स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण बिषयक कार्यशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी परिवर्तनको सम्बाहक भएको दाबी गर्दै परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेको बताए।

आजैमात्र काठमाडौंको बुढानिलकण्ठमा औपचारिक रुपमा खुलेको लेमन ट्रि नामको पाँचतारे होटलको उद्घाटन गर्न पुगको प्रधानमन्त्री ओलीले सोही होटलमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिले जसरी संविधानका विरुद्ध शक्तिहरु लागेका छन्, त्यसरी यति खुलेआम संविधानका विरुद्ध सायद पहिले कहिल्यै लागेका थिएनन्।’

उनले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको पहिले नदेखेको भन्दै आश्चर्य व्यक्त गरे।

उनले भने, ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइनँ पहिले पहिले। राजतन्त्रै हुँदाखेरी पनि केही केही पञ्चहरु जम्मा हुन्थे र कराउँथे। तर, त्यो एउटा औपचारिक कराइ हुन्थ्यो। अहिले त्यो भन्दा बढी पदधारी होइन, आशाधारीहरु कराइरहेका छन् (पदधारी कराइरहेका छैनन्)। पहिला पञ्चायतका बेला राजतन्त्र हुँदा पदधारीहरु कराउँथे। अहिले पदधारी होइन। वर्तमानमा केही पाएकाहरू होइन कि आशाधारीहरु छन्, तिनीहरु कराइरहेका छन्।’

उनले नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति सुव्यवस्था, ल एण्ड अर्डर कायम रहन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका उनले बताए।

उनले नेपाललाई विकास र समृद्धि अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेको भन्दै यसरी नेपाली जनताको जुन समृद्ध नेपालः सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा हो। त्यसलाई सफल हुनै नदिने भनेर कतिपय कोही जानेर होलान्, कोही नजानेर लागेको हुन सक्ने बताए।

प्रधानमन्त्री ओलीले देशलाई अघि बढ्न नदिनेहरुबाट सजग भएर अघि बढ्नुपर्ने अवस्था आएको भन्दै आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरुपमा लाग्न आग्रह गरे।

उनले नेकपा (माओवादी केन्द्र)को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान समेत गरे। अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरुलाई गतिशील बनाउँदै समस्याहरुको खोजी र निदान हुने अपेक्षा गरे।

 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update