हिमाल दैनिक
रिक्त ३९ स्थानीय तहमा पदपूर्तिका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदै

विभिन्न कारणले रिक्त रहेका स्थानीय तहमा पदपूर्तिका लागि सरकारले आगामी मंसिर १६ गते आइतबार उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगको परामर्श बमोजिम आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन आयोगको सिफारिसमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यसअघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्रीसंग भेट गर्दै आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएको थियो।
नेपालको संविधान बमोजिम स्थानीय तहको निर्वाचनका लागि आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ।

आयोगले तयार पारेको विवरण अनुसार, २०७९ वैशाखमा सम्पन्न स्थानीय तहकोे निर्वाचन पश्चात विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ पदमा रिक्त हुन पुगेको छ।

नेपालको संविधान तथा निर्वाचन सम्बन्धी कानूनी व्यवस्था अनुसार, एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा आयोगले उक्त स्थानमा पदपूर्तिका लागि उपनिर्वाचनको माध्यमबाट पदपूर्ति गर्नु पर्ने व्यवस्था भएअनुसार, आयोगले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तय गर्न सुझाव दिएकोे थियो।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update