हिमाल दैनिक
जनयुद्धलाई हिंसाको रुपमा परिभाषित गरेर अपमानित नगर्न माओवादीको चेतावनी

नेकपा माओवादी केन्द्रले आफूले विगतमा चलाएको जनयुद्धलाई सत्तारुढ दलकै सांसदले हिंसाको रुपमा परिभाषित गर्ने कुचेष्टा नगर्न आग्रह गरेको छ।

प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुने बितिकै माओवादी सांसदहरुले उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादीबाट सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने समय दिए।

माओवादी सांसद बस्नेतले १० बर्षे जनयुद्धको जगमा मुलुकमा परिवर्तन सम्भव भएका दाबी गर्दै जनताको बलमा राजनीतिक, सामाजिक रुपान्तरणका लागि भएको जनयुद्धलाई हिंसाको रुप दिएर अपमानीत नगर्न आग्रह गरेका हुन्।

जनयुद्धलाई संविधानले सशस्त्र द्वन्द्वको रुपमा परिभाषीत गरेको भन्दै उनले उक्त तथ्यलाई सत्तापक्ष दलका सांसदहरुले उपेक्षा गर्दै जनयुद्धलाई हिंसाको रुपमा व्याख्या गर्ने काम उपयुक्त नभएको जिकिर गरे।

सत्तपक्षबाट शान्ति प्रक्रियाका बिरुद्ध अभिव्यक्ती आउने, संविधान संशोधनका नाममा अधिकार कटौती गर्ने र संवैधानिक परिषदको संख्याका आधारमा उपसभामुखलाई हटाउने खेलको माओवादीले कडा रुपमा प्रतिवाद गर्ने उनले बताए।
उनले जनयुद्धका सन्दर्भमा आएको हिंसा शव्दका बिषयमा सत्तारुढ दलको बुझाइको पनि थप स्पष्टता माग गरे।

बस्नेतले आफ्ना मुद्दाहरुलाई यथावत राख्दै सदनलाई सूचारु गराउने पार्टीको निर्णय भएको जानकारी दिएपछि सरकारको निर्णयमा आजै मध्यरातदेखि अन्त्य हुँदै गरेको संसदको बजेट अधिवेशनको आजको बैठक सूचारु भएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update