हिमाल दैनिक
सहकारीको बचत हिनामिना सम्बन्धी समितिको प्रतिवेदन तयार, सहकारीको बचत खर्च गर्दा रवि पनि संलग्न भेटिए

बचत तथा ऋण सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिले पूर्वनिर्धारित समयसीमाभित्रै समितिको प्रतिवेदन तयार पारेको छ।

सिंहदरबारमा सोमबार बसेको समितिको अन्तिम बैठकमा समितिका सम्पूर्ण सदस्यहरुले प्रतिवेदनमा रहेका भाषालाई मिलाएसंगै सबै सदस्यहरुले हस्ताक्षर गरेपछि समितिको प्रतिवेदन सदनसमक्ष पेश गर्ने मार्ग खुला भएको छ।

समितिका सभापति सूर्य थापाले निष्पक्ष रुपमा अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको जानकारी दिए।

पार्टीगत स्वार्थभन्दा मागि उठेर सहकारी प्रकरणमा छानविन गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको उनले बताए।

समितिले ६६ वटा बैठकबाट तथ्य केलाउने काम गर्दै दोषीलाई अपराधको भागीदार बनाउन सिफारिस गरिएको उनको भनाइ छ।

प्रतिवेदनमा सहकारीबाट ऋण लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कुनै संलग्नता नदेखिएको तर, गोर्खा मिडिया नेटवर्क प्रालिको संचालनमा खर्च गर्ने क्रममा भने लामिछानेको संलग्नता देखिएको उल्लेख गरिएको समिति सदस्य एवं माओवादी सांसद लेखनाथ दाहालले बताए।

सहकारीबाट अपचलन गरिएको रकम खर्च गर्ने काम पनि दूरुपयोग हो भन्ने ठहर रहेको उनको भनाई छ।

त्यस्तै समिति सदस्य एवं रास्वपा सांसद शिशिर खनालले सहकारीबाट पैसा लाने भूमिकामा रवि लामिछाने नदेखिएको बताए।

गोर्खा मिडियामा काम गर्दा कानुनी उत्तरदायित्व वहन गर्नुपर्ने कुरामा जोड दिइएको उनले बताए।

लामो छानविनका क्रममा समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको छ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न संसदले जेठ १५ गते छानविन समिति गठन गरेको थियो। समितिको तीन महिनाको समयअवधि भदौँ २३ गते सकिएपनि सो समयमा प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको थियो। थप गरेको अन्तिम समय अगावै समितिले अन्तिम प्रतिवेदन तयार गर्दै बजेट अधिवेशनको अन्तिम दिन आजै समितिका संयोजक थापाले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तयारीमा रहेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update