हिमाल दैनिक
सभामुख घिमिरेले सदनलाई ढाँट्दै भनेः सांसद बस्नेत स्वास्थ्य उपचारका कारण ४७ बैठकमा अनुपस्थित!

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको सिंगो बैठकलाई गलत जानकारी दिएर ढाँटेका छन्।

चालु बजेट अधिवेशनको अन्तिम दिन सोमबार प्रतिनिधि सभा नियमावलीको नियम २१३ को उपनियम १ बमोजिम विविध कारणले लगातार १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम बाचन गरी उनीहरुको अनुपस्थितिको सूचना सदनलाई जानकारी गराउँदै सोही नियम अन्तर्गत सदनको स्वीकृति गराउने क्रमको सुरुवातमै सदनलाई ढाँट्दै झुट्टा विवरणसहितको जानकारी दिए।

यसरी लगातार अनुपस्थित रहने सदस्यहरुको सूचिको पहिलो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतको नाम बाचन गर्दै सदनलाई गलत जानकारी दिए।

सभामुख घिमिरेले सांसद बस्नेत ०८१ वैशाख २८ गतेदेखि साउन ३० गतेसम्म अर्थात ४७ वटा बैठकमा लगातार अनुपस्थित रहेको जानकारी दिए। यसरी अनुपस्थित रहनु पर्नाको कारण खुलाउँने क्रममा सभामुख घिमिरेले कारण स्वरुप ‘स्वास्थ्य उपचारमा, कारण स्वास्थ्यको उपचारमा’ भन्ने जानकारी दिए।

जब कि सांसद बस्नेतविरुद्ध गत वैशाख १८ गते नवलपुरको छिपछिपे सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।

सहकारीको रकम गैरकानूनी ढंगले लिएको ऋण बर्दियाको कृष्णसार रिसोर्ट खोल्न लगानी गरेको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार रहँदै आएकी थिइन्।

जसकाबारेमा समाचारहरु प्रकाशित भएपछि बस्नेतकै पार्टीले समेत उनलाई सहकारीको रकम हिनामिनाबारे छानविन प्रक्रियामा सघाउन र दोषीमाथि निश्पक्ष छानविन गरी कानूनी कारबाही चालनउ वैशाख २० गते सम्बन्धित व्यक्ति र निकायलाई अनुरोध गरेको थियो।

तर, सभामुख घिमिरेले बस्नेतको अनुस्थितिको कारणका रुपमा उनको स्वास्थ्य उपचारको कारण देखाएर सरासर सदनलाई समेत ढाँट्न भ्याए।

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update