हिमाल दैनिक
दशैंका लागि सुकिला नोट साट्ने प्रक्रिया सुरु

नेपाल राष्ट्र बैंकले दशैंका लागि सुकिला नोट साट्न सुरु गरेको छ।

राष्ट्र बैंकले बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सुकिला नोट साट्न सकिने जनाएको छ।

चाडबाडको अगाडि सर्वसाधारण नागरिकले दान दक्षिणाका लागि विगतमा बैंकबाट नयाँ नोट साट्न १५ दिनअघि देखि नै घुइचो लाग्ने गरेकोमा यसपटक राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट उपलब्ध गराउने घोषणा गरेसँगै सुकिला नोट साट्नका लागि भने कमैमात्रै सार्वसाधारण राष्ट्र बैंक पुगेका थिए।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले जानकारी दिए। पोखरेलका अनुसार, रु ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउने छन्।

राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएपनि यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्ने व्यवस्था गरेको हो। हरेक बर्ष नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समस्याका साथै खर्च समेत धेरै भएकाले सुकिला नोट साट्ने व्यवस्था गरिएको बैंकको भनाइ छ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update