हिमाल दैनिक
विपदको समयमा हवाई भाडा नबढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले व्यहोरीरहेको प्राकृतिक विपदको समयमा सर्वसाधारण यात्रुहरुलाई थप भार पर्नेगरी हवाई भाडा असुल नगर्न हवाई सेवा कम्पनीहरुलाई आग्रह गरेका छन्।

विगत तीन दिनदेखि शनिबारसम्म देशभरी आएको अविरल वर्षा, बाढी, पहिरोको कारण सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा समेत कठिनाई बढ्दैगएको बेला प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका ओलीले आइतबार आफ्नो फेसबुकमार्फत विपदको घडिमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्इमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरुलाई आग्रह गरेका हुन्।

ओलीले भनेका छन्, ‘लगातार वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडाा अरु बेलाभन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरुलाई यस्तो पित्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाष लिएर सहयोग गर्नुहुन अनुरोध छ।’

साथै प्रधानमन्त्री ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्दार उडानको लागि विशेष निर्णय गरेको बताउँदै भनेका छन्, ‘हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नु पर्छ।’

गत बिहिबारदेखि सुरु भएर शनिबार रोकिएको भिषण वर्षा, बाढी र त्यसले निम्त्याएको पहिरोका कारण काठमाडौं उपत्यकाभित्र आउने र बाहिर जाने सबै सडक मार्ग क्षतिग्रस्त हुँदा आवागमन प्रभावित बन्न पुगेको छ।

विशेषगरी नजिकिँदै गरेको चाडबाड र त्यस क्रममा देशका विभिन्न भागमा जाने यात्रुहरुको यात्रा पनि अन्यौलमा परेको छ।

अन्य समयको भन्दा चाडबाडको समयमा हवाई सेवामा भाडादर अत्याधिक बढि असुल्दै आएका नीजि हवाई सेवा प्रदायकहरुले यसवर्ष थप यात्रुहरुको चाप थेग्न नसक्ने स्थिति बनिरहेकै बेला प्रधानमन्त्री ओलीले अमेरिकाबाटै विपत्तिको सामना एकसाथ जुटेर गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update