हिमाल दैनिक
विपद कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

नेकपा (एमाले)ले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैया जम्मा गर्ने निर्णय गरेको छ।

मंगलबार काठमाडौको बसेरा होटलंमा बसेको एमाले सचिवालय बैठकले मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा रु एक अर्ब उक्त कोषमा गर्ने निर्णयगरेसंगै पार्टीका तर्फबाट पनि ५० लाख रुपैया जम्मा गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर सोमबार मात्रै फर्किएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले बैठकले प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न पनि बैठकले निर्देशन दिएको उनले बताए।

त्यस्तै बैठकले घाइतेहरुको सहज उपचारका साथै राहतलाई प्रभावकारी बनाउन र अवरुद्ध सडक सूचारु गर्न पनि सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए।

बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक रहेको र औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको निष्कर्ष निकालेको महासचिव पोखरेलले दाबी गरे।

बैठकमा प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे बैठकलाई अवगत गराएका थिए।

यसैबिच एमाले संसदीय दलले प्राकृतिक प्रकोपका बेला पार्टीका जनप्रतिनिधिलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ।

सचिवालय बैठक सकिए लगत्तै सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बाढीपहिरो तथा डुबानबाट पीडित भएकाहरूलाई राहत तथा पुनस्र्थापनाकालागि जनप्रतिनिधिलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले जानकारी दिइन्।

बैठकले सांसदहरुको आधा महिनाको तलव सरकारको बिपद्कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले बताइन्।

संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको र सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको जानकारी दिएको उनले बताइन्।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update