हिमाल दैनिक
झ्याप्लेखोला र नख्खु घटनाको दोषी देखाउन वा जिम्मेवारी लिन गृहमन्त्रीलाई राज्य व्यवस्था समितिको दबाब

सांसदहरुले प्राकृतिक विपतको पूर्वतयारी र उद्दारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको भन्दै सरकारको गैरजिम्मेवारपनप्रति कडा आपत्ति प्रकट गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा उनीहरुले मौसम पूर्वानुमान अनुसार ठूलो बर्षा हुन सक्ने आंकलन भएपनि त्यसअनुसारको पूर्वतयारी र उद्दारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति राज्यले व्यहोर्नु परेको बताए।

बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पूर्वतयारी र उद्दारका काममा भएका आलोचनालाई स्वीकार गर्दै उद्दार र राहतका कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए।

अमेरिका भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विमानस्थलमा दिएको ओठे र गैरजिम्मेवारपूर्ण जवाफप्रति लक्षित गर्दै सांसद थापाले सरकारको कामकारबाहीको विषयमा जनप्रतिनिधिहरुदेखि आम जनताले प्रश्न उठाइरहँदा त्यी प्रश्नहरु राज्यका निकायमा भएका जिम्मेवार पदाधिकारीले सुन्ने र मनन गर्ने हो, त्यसको उत्तर दिने होइन भनि कटाक्ष गरे।

उनले भने, ‘मुलुकमा आइपरेको विपद्का बेला नेपाल सरकारको मुख्यसचिवदेखि पुर्ननिर्माण प्राधिकरणको प्रमुख तथा नेपाल प्रहरीको प्रमुखसम्मले आपतकालीन अवस्थामा जुन तरिकाले काम गर्नु पर्ने हो त्यो गरेको नदेखिँदै गर्दा स्वभाविक रुपमा प्रश्न उठ्छन्।’

उनले सरोकारवाला निकायका प्रमुखहरुले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारका गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण पनि गराए।

विशेषगरी मौसम पूर्वानुमान महाशाखाले दिएको पूर्वजानकारी अनुसार, रात्रीकालीन बसहरु सञ्चालन नगर्ने निर्णय हुदाहुदै पनि सञ्चालन गरेकाले राजधानीको नजिकै धादिङको झ्याप्लेखोलामा ठूलो विपत भएको भन्दै यसबारे कसै न कसैले जिम्मा लिनै पर्नेमा जोड दिए।

त्यसैगरी ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण टिनको टहरमाथि बसेका नागरिकहरुको उद्दार समयमै नभएको प्रसंगमा गृहमन्त्री लेखकले दिएको विवादस्पद अभिव्यक्तिप्रति लक्षित गर्दै नेता थापाले भने, ‘रात्रीकालीन बस सञ्चालनको विषयसँगै नख्खुको घटनाबारे तत्काल छानविन गरी त्यसमा कसको कमजोरी भएको हो त्यो बाहिर ल्याउनु पर्छ। राजनीतिक रुपमा यदी नेतृत्वको कमजोरी भएको रहेछ भने पनि स्वीकार गर्नु पर्छ। यदी राजनीतिक नेतृत्वले ठिक ढंगले काम गर्न खोजेको हो भने पनि त्यो काम कसका कारण नभएको हो? सिडिओ सापले नगरेको भए सिडिओले नगरेको वा प्रहरी प्रमुखले नगरेको भए प्रहरी प्रमुखले नगरेको भन्नु पर्यो। तर, कसै न कसैले जिम्मा चाहीँ लिनै पर्छ।’

त्यस्तै रास्वपा सभापति रवि लामिछानले विपतको पूर्वतयारी राम्रोसंग हुन नसकेको र विपद्पछि राजमार्गमा अलपत्र नागरिकको सहज ढंगले उद्दार हुन नसकेको आरोप लगाए।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले काठमाडौंमा नै उद्दारको काम निकै ढिलाई भएको र क्षति धेरै भएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

बाटो अवरुद्ध भएका बेला हवाई भाडा निकै महङ्गो भएकाले यसलाई नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै अन्य सांसदहरुले तीनै तहका सरकारको ध्यान राहत, पुनस्र्थापना र उद्दामा केन्द्रीत हुनुपर्ने, पिडितलाई छिटो सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा गृहमन्त्री लेखकले सरकारको बचाउ गर्दै समितिमा सरकारले विपद न्यूनिकरणका सवालमा तयारी अवस्थामा रहेको अविश्वसनीय जवाफ दिएका थिए।

गृहमन्त्री रमेश लेखकले सवै मिलेर बिपतको चूनौतिको सामना गर्दैै नागरिकको सहज जिवनयापनमा लाग्नुपर्ने बताए।
उनले खोज, उद्दार र प्रतिकार्यका लागि तयार गरेकै अवस्थामा प्राकृतिक प्रकोपको घटना भएकाले खोज, उद्दार प्रभावकारी रुपमा भएको भन्दै जवाफ दिएपनि उनको जवाफप्रति सांसददेखि सर्वसाधारण कसैले पनि विश्वास गर्न सकिरहेका छैनन्।

गृहमन्त्री लेखकले प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय भए अनुसार तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने बताए।

त्यस्तै घटनामा मृत्यु र वेपत्ता भएका नागरिकको परिवारलाई राहत दिने जानकारी दिँदै क्षतिग्रस्त संरचनाहरुको छिटो भन्दा छिटो निर्माण गर्न सरकारको ध्यान केन्द्रीत रहेको बताए।

समितिको बैठकले राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ।

बैठकले सम्भव भएसम्म सबै उपाय लगाएर भएपनि प्राकृतिक विपदमा परेको नागरिकको राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै अवरुद्ध भएका सडक सञ्जालहरु यातायातका साथ चल्न सक्ने गरि मर्मत गर्न , हवाई भाडा बढ्न दिन, खाद्यान्नको मूल्यबृद्धि हुन नदिन सरकारको ध्यानाकर्षण गराएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गरि गन्तव्यमा पुराउनका लागि र थप जनधनको क्षति हुन नदिन सवै तयार गर्न पनि बैठकले सरकारलाई निर्देशन दिएको उनले बताए।

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update