हिमाल दैनिक
चीनबाट लत्ताकपडा र फलफूल बोकेर आएका ट्रक अरनिको राजमार्गमा अलपत्र

केही दिनअघि आएको भारी बर्षा र बाढी पहिरोका कारण अरनिको राजमार्गमा पनि ठूलो क्षति भएको छ।

राजमार्गका बिभिन्न खण्डमा पहिरोका कारण सवारी आवागमन नै रोकिएको छ। अरनिको राजमार्गको लार्चा–कोदारी खण्डको पाँच किलोमिटर सडक बन्द छ। लिपिङ पुल र लार्चाको बेलिब्रीच बगाएका कारण यातायात अवरुद्ध बनेको हो। त्यस्तै राजमार्गका अन्य सडक खण्डमा पनि पहिरो गएका कारण सडक अवरुद्ध छ।

सडक अवरुद्ध भएसंगै दशैंका लागि चीनबाट काठमाडौं ल्याउन लागिएका लत्ताकपडा तथा फलफूल बोकेका ट्रक र कन्टेनर बिच बाटोमै अलपत्र अवस्थामा रोकिएका छन्।

स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी लगायतको सक्रियामा यातायात खुलाउन निरन्तर पहल भइरहेको सिन्धुपाल्चोक बाह्रविसे नगरपाालीकाका प्रमुख बालकृष्ण बस्नेतले बताए।

भूकम्पले तहसनहस भएपछिको अवस्था सहज हुदैगर्दा बाढीपहिरोले अर्को समस्या थपेको र नाका नै अवरुद्ध हुन पुगेको उनले गुनासोे गरे।
उनले संघीय सरकारको बाटो हेर्दा ढिलाई हुन सक्ने भएकाले आफु–आफु मिलेर नै क्षतिग्रस्त पूर्वाधार मर्मतको काम गर्न खोजेको धारणा राखे।

त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालीका अध्यक्ष पासाङ नोर्बु शेर्पाले अरनिको राजमार्गमा क्षति हुँदा नेपाल ल्याउन खोजिएको खाद्यान्न सामाग्रीहरु बिग्रन थालेको र व्यवसायीहरु समस्यामा परेकाले तत्काल खुलाउनका पहल गरिएको बताए।

चीनसंग नाका जोडिएको ठाँउलाई केन्द्रीय सरकारले बिशेष ध्यान दिनुपर्ने उनको आग्रह छ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले लार्चा–कोदारी खण्डलाई सहज बनाउन सके भन्सारमा अड्किएका गाडीहरु राजधानी जान सक्ने भएकाले सवै मिलेर अस्थायी रुपमा भएपनि सडक सञ्चालन गर्ने प्रयास गरिएको धारणा राखे।

आफुहरुको चिन्ता केन्द्रीय सरकारसमक्ष नपुगेको होकी भन्ने आभाष भएको उनको भनाइ छ।

त्यस्तै सिन्धुपाल्चोकका संघीय सांसद मोहनबहादुर बस्नेतले बेलिब्रीजको स्थानमा पक्कीपुल राख्न नसक्दा बेलिब्रीज बगाएकाले अव स्थायी रुपमा नै पुल राख्ने गरि अघि बढ्नुपर्ने जिकिर गरे।

अरवौको राजस्व संकलन हुने राजमार्गलाई दिगो रुपमा बनाउनका लागि सरकार चूकेको आरोप उनले लगाए।
बस्नेतले अव सवै मिलेर अस्थायी रुपमा सडक सञ्जाल खोल्नुपर्ने र दिर्घकालीन संरचना पनि बनाउनुपर्नेमा जोड दिए।

भोटेकोसीमा आएको बाढीले नाका नजिकैको अरनिको राजमार्गको लार्चा र लिपिङको मोटरेबल पुल बगाएको छ।

लार्चामा रहेको पक्की पुल केहिबर्षअघिको पहिरोले क्षति गरेपनि अस्थायी बेलिब्रिज राखिएको थियो। उक्त अस्थायी बेलिब्रिज अहिलेको बाढीले बगाएपछि नाकाबाट आउने सवारी साधन उतै राकिन पुगेको हो।

 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update