हिमाल दैनिक
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउत नियुक्त, आजै पदबहाली गर्दै

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषदको सिफारिसमा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उमेर हदका कारण सेवाबाट अवकाशमा जानेस्थितिमा संवैधानिक परिषदको भदौ ३१ गतेको निर्णय अनुसार, कायममुकायम प्रधानन्यायाधीश राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको थियो।

संविधानको धारा २९२ को व्यवस्था अनुसार, नियुक्तिपूर्व संघीय संसदको संयुक्त सुनुवाई समितिबाट सार्वजनिक सुनुवाई पश्चात मात्रै नियुक्तिका लागि योग्य हुने प्रावधान अनुसार, समितिले असोज १६ राउतको सुनुवाई गरी नियुक्तिका लागि अनुमोदन समेत गरिपठाएको थियो।

उक्त अनुमोदनको पत्र प्राप्त गरेपछि संवैधानिक परिषदको तर्फबाट राउतलाई नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरेकोमा आजै मात्रै उनलाई नियुक्ति गरेको सूचना प्रकाशित भएको छ।

यसैबिच राष्ट्रपति कार्यालय स्रोतका अनुसार, राउतलाई आजै राष्ट्रपति पौडेलले शीतल निवासमा एक औपचारिक कार्यक्रमकाबिच पद तथा गोपनीयताको सपथ दिलाउने तयारी भइरहेको छ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै पद तथा गोपनीयताको सपथ लिएलगत्तै सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्ने तयारी पनि भइरहेको छ।    

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update