हिमाल दैनिक
भोटेकोशीको लार्चामा अस्थायी पुल निर्माणसँगै सवारी आवागमन सुचारु

बाढीका कारण भोटेकोशी नदीले सिन्धुपाल्चोकको लार्चास्थित बेलिब्रिज बगाउँदा अवरुद्ध बनेको अरनिको रार्जमार्ग सूचारु भएको छ।

लार्चामा अस्थायी पुल निर्माण भएसंगै सवारी साधनहरु सुचारु भएको हो। निरन्तर वर्षापछि आएको बाढीले गत शनिबार बेलिब्रिज बगाएसँग उक्त सडक अवरुद्ध भएको थियो।

अरनिको राजमार्गको तातोपानी नाका अन्तर्गत पर्ने लार्चा खोलामा भोटेकोसी गाँउपालिकाले अस्थायी पुल बनाएको हो। अस्थायी पुल नजिकै सर्वसाधारणलाई पैदल आवत जावत गर्नका लागि बाँसको अर्को अस्थायी पुल समेत बनाइएको छ।

अस्थायी पुल निर्माणको स्थलगत निरिक्षण गर्दै सिन्धुपाल्चोकका सांसद मोहनबहादुर बस्नेत लगाएतका स्थानीय जनप्रतिनिधिहरुले पक्कि पुल निर्माणको लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने जनाएका थिए।

सांसद बस्नेतले बाढीपहिरोका कारण अरनिको राजमार्गका अन्य स्थानमा पनि ठूलो क्षति भएको भन्दै अधिकांश स्थानमा सडक खुलाइसकेको बताए।

त्यस्तै खागदलमा बेलिब्रिज बगाएको स्थानमा पनि नयाँ बेलिब्रिज राख्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

यसअघि भूकम्प र बाढीपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असारमा भोटेकोशी बाढीले सडक र सीमा क्षेत्रका बस्ती बगाएको थियो। ०७४ मा लार्चाको मोटरबेल पुल बगाएपछि बेलिब्रिज हालिएको थियो। उक्त लार्चाको बेलिब्रिज हालैको बाढिले बगाएको थियो।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update