हिमाल दैनिक
संशोधनको नाममा संविधान नै खारेज गर्ने प्रयत्न भइरहेको छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको दाबी गरेका छन्।

बुधबार काठमाडौंका सम्पादकहरुसंगको छलफलका क्रममा दाहालले केहिलाई संविधानको उपलव्धी र परिवर्तन मन नपरेको भन्दै संविधान खारेज गर्ने प्रयन्त भइरहेको आरोप समेत लगाए।

देशका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच गत असार १७ गते भएको ७ बुँदे सहमतिप्रति लक्षित गर्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउनुको उदेश्य संविधान संशोधन नै हो भन्ने आफुलाई नलागेको दाबी गरे।

कांग्रेस र एमालेबिच भएको सत्ता साझेदारीपूर्वको सहमतिमा संविधान संशोधनको विषय राखिएकोमा उनले आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको भन्दै परिवर्तनबिरुद्ध हुने संशोधन भने स्वीकार्य नभएको स्पष्ट पारे।
उनले अहिले देश निकै अप्ठेरो अवस्थामा रहेकाले राष्ट्रिय सहमतिकासाथ अघि बढ्नुपर्ने धारणा पनि राखे।

त्यस्तै दाहालले गत असारको अन्तिम साता सत्तामा सँगै रहेको नेकपा एमाले र यसको नेतृत्वले कांग्रेससँग मिलेर बेइमानीपूर्वक आफ्नो सरकार ढालेको आरोप लगाउँदै पहिलो र दोश्रो दल मिलेर सरकार बनाइएकोमा आशंका व्यक्त गरे।

सहकारीको बचत हिनामिना छानविनका लागि गठित संसदीय समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरिसकेपछिको अवस्थामा त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै उनले सरकारले उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्न नचाहेको जिकिर समेत गरे।

अध्यक्ष दाहालले यसअघिका दुईवटा निर्वाचनमा कहिले एमाले त कहिले कांग्रेस लगायतका दलसँग चुनावी तालमेल र गठबन्धनमार्फत चूनाव लड्दा माओवादीको अस्तीत्व नै हराउने स्थिति बन्दै गएको भन्दै उनले आगामी चूनावमा एक्लै लड्ने गरि तयारी गरिरहेको जानकारी पनि दिए।

उनले हालैको प्राकृतिक विपद्मा सरकार तयारी कमजोर भएकाले धेरै धनजनको क्षति भएको बताए।

यसका बाबजूद पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले अहिले सरकारलाई गाली गर्ने भन्दा पनि सबैे मिलेर मुलुकमा आइपरेको संकटको सामना गर्नुपर्ने धारणा राखे।

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update