हिमाल दैनिक
उदासिन सरकारविरुद्ध मोर्चाबन्दी गर्दै विपक्षी दलहरु, रविलाई पक्राउ गरिए प्रतिवाद गर्ने धम्की

बिपक्षी दलहरुले बिभिन्न जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलहरुको संयुक्त बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, र पुनःस्थापनामा सरकारले गम्भीरता नदेखाएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

जनसरोकारका विषयमा ध्यानाकर्षण पत्र बुझाउँदा पनि सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउन माग गर्नुपर्ने स्थितिमा पुग्न सक्ने सम्भावना रहेको जानकारी बैठकपछि नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताए।

संसदमा विपक्षमा रहेका दलहरुको बैठक भनिएपछि उक्त बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको पनि उपस्थिति रहेको थियो। बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा सरकार लागिपरेको आशंका व्यक्त गर्दै यस बिषयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव बस्नेतले बाढी पहिरो लगायत विपत्तिमा सरकारले प्रभावकारी रुपमा खोज, उद्धार, राहतका काम गर्न नसकेको आरोप लगाए।

उक्त बिषयमा विपक्षी दलहरुको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र सुनुवाई नभए विशेष अधिवेशन बोलाउने निर्णय भएको उनले बताए।

सरकारले पार्टीगत स्वार्थलाई केन्द्रमा राखेर काम गरेको उनको भनाइ छ। बस्नेतले राजनीतिक पूवाग्रहका आधारमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने जिकिर गरे।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वर्तमान सरकार पूर्णरुपमा असफल भएको भन्दै बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र दिने निष्कर्ष निकालिएको जानकारी दिए।

उनले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाउने नियत राखेको भन्दै सजकताका साथ अघि बढ्ने धारणा राखे।

गत भदौको अन्तिमसातादेखि नै कतिपय राजनीतिक दलका नेता, कार्यकर्तादेखि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारले साना दलहरुको अस्थित्व समाप्त पार्नेगरी राजनीतिक दल सम्बन्धी कानून संशोधन गर्ने अध्यादेश जारी गर्ने तयारीमा रहेको हल्ला चल्दै आएको छ। जसको कारण विशेषगरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र धेरै ठूलो उथलपुथल हुनसक्ने अनुमान गरिँदैछ।

त्यस्तै रास्वपा नेता विराजभक्त श्रेष्ठले राज्यको दूरुपयोग गरेर सभापतिलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिए।

यद्दपी सहकारी प्रकरणमा सघाउन सभापति तयार नै रहेको भन्दै यदि राज्यशक्तिको दुरुपयोग गरी गलत कदम चालिएको खण्डमा त्यसको प्रतिकार गर्ने बताए।

बैठकले सरकारलाई बिभिन्न बिषयमा ध्यानाकर्षण गराउनका लागि कार्यदल समेत गठन गरिएको उनले जानकारी दिए।

उनले सबै बिषयमा ध्यानाकर्षण गराउदा पनि बिपक्षी दललाई पेल्ने काम भए बिशेष अधिवेशन आह्वानका लागि अघि बढ्ने उल्लेख गरे।

रास्वपा नेता शिशिर खनालले बिपक्षी दलले बनाएको कार्यदलले आगामी कार्तिक ५ गते सरकारको ध्यानाकर्षण गराउने र त्यसपछि बिपक्षी दलबीच समन्वयनको काम गर्ने जानकारी दिए।

कार्यदलमा  माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र रास्वपाका शिशिर खनाल रहेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update