हिमाल दैनिक
रविको नीजि मामिलामा रास्वपासँगै प्रतिरक्षामा उभिएलान् त अरू विपक्षी दलहरु पनि?

सहकारीको बचत हिनामिना गरेको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले आफ्नो दल र दलका नेता, कार्यकर्तासँगै संसदमा रहेका विपक्षी दलहरुलाई पनि आफ्नो रक्षाकबचको रुपमा उतार्न हरसम्भव प्रयास गरेका छन्।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी लगायत विभिन्न सहकारीको करोडौं रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रा.लि.मा अवैध लगानी गरेर रकम हिनामिना गरेको आरोप लागेका लामिछानेविरुद्ध कुनै पनि बेला प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा लिन सक्ने आशंकाले ग्रसित बनेका लामिछानेले शुक्रबार विपक्षी दलका नेताहरु उपस्थित बैठकमा आफूविरुद्ध हुन लागेको प्रहरी पक्राउविरुद्ध उभिन सबैसँग आग्रह गरेका थिए।

हालै गएको बाढी, पहिरो र धनजनको विनाश लगायतका समसामयिक विषयमा छलफलका लागि शुक्रबार नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलका नेताहरु उपस्थित बैठकमा लामिछानेले आफूलाई फसाउँने नियतमा सरकार लागिपरेको आरोप लगाउँदै अहिले आफूलाई पक्राउ गरेमा भोलिका दिनमा जोकोहीलाई पनि पक्राउ गर्न सक्छ भन्दै यसका विरुद्ध सबै विपक्षी दलले उभिएर आफूलाई साथ दिन आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।

यसअघि असोजको पहिलो साता पनि लामिछानेले आफूलाई प्रहरीले पक्राउ गर्न खोजिरहेकोे भन्दै आफ्नो दलको कार्यालय वनस्थलीमा पार्टीका सम्पूर्ण नेता, सांसद र कार्यकर्तालाई प्रतिकारका लागि उपस्थित हुन उर्दी जारी गरेका थिए।

अहिले फेरि आफ्नो दलका नेता, कार्यकर्तासँगै विपक्षमा रहेका अन्य दल र तिनका नेताहरुलाई समेत विगतमा अमेरिकाबाट फर्किएर व्यक्तिगत रुपमा चलाएको व्यापार, व्यवसाय र वैद्य÷अवैध धन्दाको बचाउमा आफ्नो दलसँगै विपक्षी दलहरुलाई पनि प्रतिकारमा उतार्ने कोशिश गरेका हुन्।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको आजको बैठकमा दाहालले आफूले पनि लामिछानेलाई जुनसुकै बेला राज्यले पक्राउ गर्न सक्ने जानकारी आफूले प्राप्त गरेको जानकारी बैठकका नेताहरुलाई गराएका थिए।

बिहिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर आएका दाहालले दिएको पछिल्लो अभिव्यक्तिले लामिछानेलाई थप सशंकित र आतंकित बनाएको छ।

सहकारीको रकम हिनामिना कार्यमा संलग्न भएको आरोपमा लामिछानेसँगै व्यवसायिक साझेदार बनेका छवि ओझालाई कास्की प्रहरीले यसअघि नै हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएपनि लामिछानेको विषयमा पक्राउ पूर्जी जारी गर्ने गराउने कार्यमा प्रहरीले आलटाल गरिरहेको भन्दै कतिपय लामिछानेका आलोचकहरुले राज्य, प्रशासनको आलोचना गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update