हिमाल दैनिक
सहकारीको रकम ठगीसँगै संगठित अपराधको आरोपमा पक्राउ परेको रविलाई अदालतमा उपस्थित गराइँदै

सहकारीको रकम हिनामिना र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष एवं गोरखा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमामा शुक्रबार जिल्ला अदालत कास्कीको पक्राउ पूर्जीका आधारमा पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेलाई हिरासतमै राखी अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले आज अपरान्ह जिल्ला अदालतमा पेश गर्न लागेको हो।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान व्यूरोले पक्राउ गरी शनिबार बिहान पौने ३ बजे पोखरा पुर्याई हिरासतमा राखिएका लामिछानेलाई कानून बमोजिम अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था अनुसार अपरान्ह उपस्थित गराइने छ।

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले सूर्यदर्शनसहित पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गैरकानूनी रुपमा स्थानान्तरण गरी अपचलन गरेको आरोपमा परेको मुद्दाबारे जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

यसअघि सहकारी पीडितहरुले आफ्नो बचत रकम फिर्ताको माग गर्दै विभिन्न निकायहरुमा धाएपनि त्यसको सुनुवाई हुन सकिरहेको थिएन। गत माघ, फागुनदेखि संसदमा नेपाली कांग्रेस लगायतका तत्कालीन विपक्षी दलहरुले सहकारीको रकम हिनामिनाबारे निश्पक्ष छानविनका लागि संसदीय छानविन समिति गठनको माग गरेका थिए।

फलस्वरुप तत्कालीन सरकारको सहमतिमा गत जेठ १५ गते प्रतिनिधि सभाले सात सदस्यीय विशेष छानविन समिति गठन गरेको थियो। जसले रविसहित उनका व्यवसायिक साझेदारहरुको संलग्नतामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, बुटबलको सुप्रिम, चितवनको साहारा, विरगञ्जको सानो पाइला जस्ता पाँच सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.को खातामा गएको र त्यसको आर्थिक कारोबारमा रवि पनि संलग्न रहेको भन्दै विद्यमान कानून बमोजिम कारबाहीको लागि छानविन समितिले संसद र सरकारलाई प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएपछि लामिछानेसहित अन्य १४ जनाविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पूर्जी जारी गरेको थियो।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update