हिमाल दैनिक
रास्वपा कार्यकर्ता र प्रहरीबिच पोखरामा झडप, निषेधित क्षेत्र खाली गराउन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग

सहकारीको रकम अपचलनसँगै संगठित अपराधमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको पार्टीका नेता, कार्यकर्ता र सुरक्षाकर्मीबिच पोखरामा झडप भएको छ।

लामिछानेका समर्थक र सहकारी पीडितहरुको दोहोरो प्रदर्शनमा हुनसक्ने सम्भावित झडपको स्थिति नियन्त्रणका लागि पोखरा महानगरपालिकाका केही भागमा प्रहरी प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि लामिछानेका समर्थकहरुले निषेधित क्षेत्रमा प्रवेश गर्दै अनियन्त्रित हुन खोजेपछि रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउनका लागि प्रहरीले अश्रूग्याँस र पानीको फोहोरा प्रहार गरेको छ।

प्रहरीले अश्रूग्याँस र पानीको फोहोरा प्रहार गरेपनि प्रदर्शनकारीले निषेधित क्षेत्रमा नै प्रदर्शन गरिरहेका छन्। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतमा हाजिर गराउदा उनका समर्थकहरुले कास्की अदालत नजिकै प्रदर्शन गरेका हुन्।

राजनीतिक प्रतिशोध साध्न पाइदैन भन्दै रास्वपाका नेता तथा कार्यकर्ताहरुले पोखराका बिभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए।

निरन्तरको प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयले कास्कीका शहिद चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

तर रास्वपा नेता तथा कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेका हुन्। निषेधित क्षेत्र तोडेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड अश्रूग्यास प्रहार गरेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफूलाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै अदालतले न्याय दिने बताएका छन्।

म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत कास्की लग्ने क्रममा लामिछानेले यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहने समेत दाबी गरे।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update