हिमाल दैनिक
आफूलाई फसाउन षडयन्त्र गर्ने ओली सरकारविरुद्ध सडकमा उत्रिन कार्यकर्तालाई रविको आग्रह

सहकारीको रकम अपचलनसँगै संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले आफूबिरुद्ध राजनीतिक प्रतिशोध साध्ने काम भएकाले प्रतिरोधमा उत्रन आफ्ना पार्टी कार्यकर्ता र समर्थकलाई आग्रह गरेका छन्।

आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले राज्यसता कब्जा गर्ने र निर्दोष व्यक्तिलाई फसाउने सरकारको नियत देखिएकाले प्रतिरोधमा उत्रन आग्रह गरेका हुन्।

उनले आफुलाई अदालतले न्याय दिनेमा निर्धक्क र विश्वस्त रहेको बताउँदै वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को आलोचना र टिप्पणी गरे।

उनले भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ। तर, केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुस्ख पाउँछन्। यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ।’

प्रहरी हिरासतमा रहेर म्याद थपका लागि जिल्ला अदालत लगिदै गरेका लामिछानेले आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको बताउँदै वर्तमान सरकार ढाल्नका लागि यसविरुद्ध देशभरी र घर–घरबाट सडकमा पार्टी कार्यकर्ता निस्कनु पर्ने अवस्था आउन सक्ने दाबी पनि उनले गरे। साथै उनले सडकमा आफूलाई बचाउन र आफ्नो समर्थनमा नभई ओलीलाई ढाल्न सडक संघर्षको चर्चा गरे।

सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोसित मुद्रामा भने, ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो।’

गत आम निर्वाचन लगत्तै गठन भएको सरकारमा कुनै राजनीतिक अनुभव र परिक्षण नै नभएका लामिछानेलाई एकैचोटी उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाउन मात्र होइन, गत वर्षको फागुन २१ गते पनि सोही जिम्मेवारीमा पुनस्थापित गराउन सघाएका ओलीप्रति चरम रुष्ट बनेका लामिछानेले आज भने केपी ओली देशको प्रधानमन्त्री हुनु दुर्भाग्य रहेको टिप्पणी समेत गर्न भ्याए।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update