हिमाल दैनिक
हिरासतको म्याद थप्ने अनुमति माग्दै प्रहरीले रविलाई बिहिबार अदालतमा लैजाने

सहकारीको रकम ठगी तथा संगठित अपराधमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ।

पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारीको रकम हिनामिना गर्ने कार्यसँगै संगठित अपराधमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले गत शुक्रबार काठमाडौंबाट पक्राउगरी पोखरा पुर्याएसँगै छानविन र अनुसन्धानका हिरासतमा राखिएका लामिछानेलाई भोली बिहिबार म्याद थपको माग गर्दै जिल्ला अदालतमा लाने तयारीमा प्रहरी प्रशासन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शुक्रबार पक्राउ गरी हिरासतमा राखिएका लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमतिका लागि गत आइतबार जिल्ला अदालतमा पेश गरेकोमा अदालतले ६ दिन अर्थात आज बुधबारसम्म हिरासतमा राखी छानविन र अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको थियो।

पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा, विरगञ्जको सानोपाइला ऋण तथा बचत सहकारी संस्थाहरुको ६५ करोड ५४ लाख रुपैयाँ तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष जिबी राई, प्रवन्ध निर्देशक लामिछानेसँगै उनीहरुका व्यवसायिक साझेदारद्वय पूर्व डिआइजी छविलाल जोशी र कुमार रम्तेलले नियोजित रुपमा टेलिभिजन कम्पनीमा संगठित रुपमा अपचलन गरेको आरोपमा उनीहरुमाथि कानून बमोजिक अनुसन्धान र छानविन गरी कारबाही चलाउन संसदको विशेष छानविन समितिले संसदमार्फत सरकारलाई निर्देशन दिएको थियो।

जसमा अध्यक्ष राई विगत एक वर्षदेखि नै फरारको सूचिमा रहेका छन् भने रम्तेल र जोशी यसअघि नै प्रहरी अनुसन्धानको प्रक्रियामा हिरासतमा रहेका छन्।

असोज ६ गते पक्राउ परेका जोशीलाई बुटबलको सुप्रिम सहकारीको रकम हिनामिनाको विषयमा वयानका लागि सोमबार रुपन्देही लगिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार झण्डै ७ घण्टा लामो वयान लिएपछि जोशीलाई पनि आजै पोखरा ल्याइँदैछ।

यसैबिच रवि लामिछानेको पक्राउको विरोधमा उनको पार्टी रास्वपाका नेता, सांसद र कार्यकर्ताहरुले पोखराको सडकमा विरोध प्रदर्शन जारी राखेका छन्। 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update