हिमाल दैनिक
कास्की जिल्ला अदालतले निम्त्याएको रविको सकसलाई रुपन्देहीले झन बल्झाइदियो

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परि प्रहरी हिरासतमा रहेका गोरखा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि एकपछि अर्को संकट थपिदै गएको छ।

अघिल्लो शुक्रबार पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरी ठगी गरेको तथा संगठित अपराधमा संलग्न भएको आरोपमा काठमाडौबाट पक्राउगरी पोखरा पुर्याइएपछि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध बिहिबार फेरि अर्को सकस थपिएको हो।

जिल्ला प्रहरी कास्कीले अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति माग्दै जिल्ला अदालत कास्कीमा उपस्थित गराएलगत्तै अदालतले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति थियो।

उता, रुपन्देही जिल्ला अदालतले सोही दिन बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत हिनामिना गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटबल, रुपन्देहीका नाममा लामिछानेसहित १२ जनालाई सहकारीको बचत ठगी तथा संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरी अनुसन्धान गर्न अनुमति थियो।

यता कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीसहित लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनीहरुको हिरासतको बसाई सात दिन लम्बिएकै बेला उता रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछाने, जोशी र उनीहरुको व्यवसायिक साझेदार तथा तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईसहित १२  पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि हिरासतमा रहेका जोशी र लामिछानेको संकट लम्बिएको हो।

पोखरामा रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी रुपन्देही स्थित इलाका प्रहरी कार्यालयले कुनै पनि बेला झिकाएर वयान लिने र अनुसन्धान प्रक्रिया गर्न सक्ने छ।

यसै हप्ताको सुरुमै रविका व्यवसायिक साझेदार तथा पूर्व डिआइजी जोशीलाई रुपन्देही जिल्ला प्रहरीले पोखराबाट झिकाएर सहकारी ठगीको विषयमा वयान लिएको थियो।

विभिन्न ५ वटा सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगानी गरेर बचतकर्ताको बचत हिनामिना गरेको संसदीय छानविन समितिको प्रतिवेदनको कार्यान्वयन प्रक्रियामा रविको पक्राउको विरोधमा सडकमा उत्रिएका रास्वपा नेता, कार्यकर्ता र समर्थकको विरोध प्रदर्शनलाई पनि थप जटिल बनाइदिएको छ।

रविको पक्राउलगत्तै पोखरामा भेला भएर सडकमा विरोध प्रदर्शन गर्दैआएका रास्वपा नेता, कार्यकर्ताले यो परिस्थितिको जटिलतालाई बुझेर नै आजदेखि आफूहरुको विरोध प्रदर्शन राजधानी काठमाडौंको माइतीघरमा सारेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update