हिमाल दैनिक
जिप्रका कास्की भन्छः रविका समर्थकले तथ्यहीन, भ्रामक हल्ला फैलाए

सहकारी ठगी तथा संगठित अपराधमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हतियारधारी प्रहरीले इजलासभित्रै पनि अपशब्द प्रयोग गरी धम्क्याइएको भनि लगाएको आरोपको कास्की जल्ला प्रहरी कार्यालयले खण्डन गरेको छ।

गत बिहिबार सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्द प्रयोग नगरको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भनि रविका कानून व्यवसायी र सहयोगीहरुले सामाजिक सञ्जालमार्फत चलाएको हल्ला तथ्यहिन भएको दाबी प्रहरी कार्यालयले गरेको छ।

गोरखा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीको बचत हिनामिना तथा संगठित अपराध लगायतका कानून विपरितका गतिविधिमा संलग्न रहेको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका लामिछानेलाई हिरासतभित्र र अदालतभित्र इजलासमा पनि दुव्र्यवहार र अपमानसँगै धम्काउने कार्य भएको भनि उनका समर्थकहरुले सामाजिक सञ्जाल र मिडियामार्फत सन्देश प्रबाह गरेपछि आइतबार जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो।

प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा इजलासमा आदरार्थी शब्द प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दव्र्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ।

‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा सामचारहरुबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ,’ जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Kaski district police1730019820.jpg

साथै नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैब प्रतिबद्ध रहेको पनि प्रहरीले जनाएको छ।

केही दिनदेखि उनका समर्थकहरुले हिरासत र इजलासमा समेत रविमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जाल, आमसञ्चारमाध्यम हल्ला फैलाउँनेदेखि राष्ट्रिय मानवअधिकार आयोगमा समेत ज्ञापनपत्र बुझाएर आयोगको ध्यानाकर्षण गराउने कार्य जारी राखेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसको प्रतिवाद गर्दै विज्ञप्ति नै जारी गरेको हो।

जसमा भनिएको छ, ‘त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरिदिनु हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय कास्की हार्दिक अनुरोध गर्दछ।’
 

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update