हिमाल दैनिक
प्रधानमन्त्री निवास बालुवाटार नजिकै रविका समर्थकहरुको विरोध प्रदर्शन, धरपकड गरिएको आरोप

सहकारी ठगी तथा संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाको रिहाइको माग गर्दै उनको पार्टीका नेता, कार्यकर्ताले मंगलबार काठमाडौंको बालुवाटार नजिक विरोध प्रदर्शन गरेका छन्।

अमेरिकी नागरिकता र पासपोर्ट लिएलगत्तै नेपाल फर्किएर खारेजीमा परेको पुरानै नागरिकता प्रयोग गर्दै गैरकानूनी ढंगले नेपालमा गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक बनेका लामिछाने र उनका व्यवसायीक साझेदार जिबी राई, छविलाल जोशी लगायतले विभिन्न पाँच वटा सहकारीको बचत आफ्नो कम्पनीमा संगठित र गैरकानूनी ढंगले परिचालन गरी अपचलन गरेको आरोप लागेका लामिछानेलाई कास्की जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखेपछि त्यसको विरोधमा रास्वपाले प्रधानमन्त्री निवास बालुवाटार नजिक विरोध प्रदर्शन गरेको हो।

पार्टी खोलेर राजनीतिमा आउनुअघि व्यक्तिगत रुपमा लामिछानेले गरेको बैद्य÷अबैद्य व्यवसायीक कारोबारको विषयलाई पनि राजनीतिक रंग दिएर रास्वपाले उनको बचाउमा निरन्तर सडकमा उत्रिएको छ। लामिछानेले आफ्नो पक्राउ कानून विपरित आफूले गरेको काम कारबाहीको विषय नभई केबल राजनीतिक प्रतिशोध मात्रै भएको भन्दै त्यसको विरोधमा उत्रिन नेता, कार्यकर्ताले उर्दि जारी गरेलगत्तै रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरु सुरुमा पोखराका सडकमा र पछिल्लो समय राजधानीको सडकमा उत्रिएर राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्व फिर्तासहितको न्यायका लागि भन्दै आन्दोलन गरिएको रास्वपाले जनाएको छ।

प्रदर्शनका क्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले दुई तिहाइको सरकारले आफ्ना सभापतिलाई प्रतिशोधका आधारमा पक्राउ गरेको दाबी गरे।

जब कि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, विरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी ऋण तथा बचत सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ जिबी राई र रविको समूहले गोरखा मिडियामा अवैधानिक र गैरकानूनी ढंगले परिचालन गरी बचतकर्ताको रकम हिनामिना गरेको ठहरसहित संसदको विशेष छानविन समितिले उनीहरुमाथि छानविन, अनुसन्धान र कानूनी कारबाही चलाउन संसदमार्फत सरकारलाई निर्देशन दिएको थियो।
अर्यालले लामिछानेलाई हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने भएकाले तत्काल थुनामुक्त गर्न आग्रह समेत गरे।
अर्यालले अदालतले दिने आदेशलाई रास्वपाले सम्मान नै गर्ने उल्लेख गरेपनि सर्वोच्च अदालतदेखि जिल्ला अदालत कास्कीको आदेशमा प्रहरी हिरासतमा रहेका लामिछानेको पक्राउविरुद्ध सडकमा उत्रिएर अदालत र प्रहरी अनुसन्धानको प्रक्रियालाई प्रभावित पार्न कोशिश रवि र उनको समूहले गरिरहेको आरोप सरकार र सत्ता पक्षले लगाइरहेका छन्।

आफुहरुको आन्दोलन शान्तिपूर्ण भएकाले धरपकट नगर्न उनले आग्रह समेत गरे।

यसैबीच रास्वपाले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने क्रममा आफ्ना ५० भन्दा बढि नेता तथा कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको दावी गरेको छ। कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update