हिमाल दैनिक
तेस्रो पटक म्याद थपको माग गर्दै प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गरायो

पोखरा– सहकारीको बचत ठगी तथा संगठित अपराध लगायतका विषयमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका गोरखा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ।

पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारीको बचत संगठित रुपमा हिनामिना गरेको लगायतका विषयमा आरोप लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई तेस्रो पटक हिरासतको म्याद थपको माग गर्दै कास्की जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो।

कार्तिक २ गते काठमाडौंबाट पक्राउगरी पोखरा लगिएलगत्तै कार्तिक ४ गते अदालतमा उपस्थित गराइएका लामिछानेलाई अदालतले सुरुमा ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त म्याद सकिएलगत्तै कार्तिक ८ गते पुनः अदालतमा पेश गरिएका लामिछानेको अनुसन्धान प्रक्रिया बाँकी नै रहेको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि अदालतले ७ दिनको अनुमति दिएको थियो।

यसरी दिएको म्याद थपको अनुमति कार्तिक १५ गते सकिएपनि १६ देखि १९ गतेसम्म तिहार पर्वको कारण सरकारी विदा परेकोले प्रहरीले आज सरकारी कार्यालय खुलेपछि अदालतमा ३० दिनको हिरासत अनुमति माग गर्दै अदालतमा उपस्थित गराएको हो।

जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा उपस्थित गराइएका लामिछानेको हिरासतको समयावधि थप गर्ने विषयमा अहिले पक्ष र विपक्षका कानून व्यवसायीहरुले बहस गर्दैछन्।

गोरखा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष एवं लामिछानेका व्यवसायिक साझेदार जिबी राई, पूर्व डिआइजी छविलाल जोशी र कुमार कुमार रम्तेलले विभिन्न सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गैरकानूनी रुपमा उक्त कम्पनीमा लगानी गरेको आरोपमा प्रहरीले जोशी र रम्तेललाई पक्राउ गरेपछि लामिछानेलाई पनि नियन्त्रणमा लिएको हो। तर, राई भने फरार रहेका छन्।

आज अदालतले उनलाई हिरासतमा राख्ने वा नराख्ने आदेश दिएलगत्तै लामिछानेलाई रुपन्देहीको बुटबलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाको विषयमा पनि छानविन र अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले यसअघि नै पक्राउ पूर्जी जारी गरीसकेको छ। जसको कारण लामिछानेलाई प्रहरीले जुनसुकै बेलामा पनि वयानका लागि बुटबल पठाउन सक्नेछ।

उता, लामिछानेको पक्राउको विरोध गर्दै रास्वपाका नेता, कार्यकर्ता र समर्थकले पोखराको सडकमा विरोध प्रदर्शन गरेका छन्।

प्रहरी प्रशासनले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश गर्न रोक लगाएपनि लामिछानेका समर्थकहरुले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर गर्न केही राउण्ड अश्रुग्याँस प्रयोग गरेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update