प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि डेंगी संक्रमणको आशंका गरिएको छ। सोमबार साँझदेखि ज्वरो आएपछि स्वास्थ्यमा केही समस्या देखिएको थियो।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीको सचिवालय स्रोतका अनुसार, सोमबार साँझ अचानक ज्वरो आएर स्वास्थ्यमा केही समस्या देखिएपछि त्यसको लक्षणहरुलाई ख्याल गरी मंगलबार बिहान डेंगी परिक्षणका लागि स्वास्थ्यकर्मीहरुले रगत संकलन गरी लगेका छन्।
स्वास्थ्यमा केही समस्या देखिएपछि अति आवश्यक र महत्वपूर्ण भेटघाट बाहेक अन्य भेटघाट र कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री ओलीलाई डेंगी लागे वा नलागेको टुंगो रक्त परिक्षणको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रधानमन्त्री ओलीको प्रेस सचिवालय संयोजक रामशरण बजगाईले हिमाल दैनिकलाई बताए।
पछिल्लो दुई महिनायता उपत्यकाभित्र डेंगी संक्रमणका विरामीहरुको संख्या अत्याधिक बढ्दै गएको छ। यही समयमा प्रधानमन्त्री ओलीलाई पनि अचानक ज्वरो आएपछि स्वास्थ्यमा देखिएको समस्याका कारण डेंगी संक्रमणको आशंका गरिएको हो।