हिमाल दैनिक
लोहोरोले हिर्काएर आमाको हत्या गरेको आरोपमा काभ्रेका एक युवक पक्राउ

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँबाट आमाको हत्याको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कात्र्तिक १६ गते अपरान्ह चार बजेको समयमा रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँकी ६९ वर्षीया माईली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले सिलौटाको लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए।

सिलौटाको लोहोरो प्रहार गरी आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्रहरी उपरीक्षक खड्काले माईली लामा आफ्नै घरको भान्सा कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी खहरेपाँगु, ईलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएको टोेलीले प्रारम्भिक अनुसन्धान गरी मृतकको कान्छो छोरा वर्ष २८ को फुर्साङ लामालाई पक्राउ गरिएको जानकारी दिए।

खड्काका अनुसार, घटनाको अनुसन्धान गर्दा फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्नुको साथै ढोकाको आग्लोले समेत हिर्काएर गरी हत्या गरेको पाइएको थियो।

हत्याको आरोपमा पक्राउ परेका फुर्साङले आमाको हत्या गरी आमाले कानमा लगाएको सुनको रिङ र उनको साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फरार भएको प्रहरीको दाबी छ।  फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयल काभ्रेले कात्र्तिक १८ गते पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए।

पक्राउ परेका फुर्साङलाई मंगलबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update