सहकारीको बचत ठगी तथा संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका गोरखा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १० दिन हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले तिहार विदा सकिएलगत्तै मंगलबार हिरासतको समयावधी थपको माग गर्दै जिल्ला अदालतमा उपस्थित गराएकोमा जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई १० दिन हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो।
पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारीको रकम हिनामिना गरेको आरोपमा कार्तिक २ गते काठमाडौंस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्यालयबाट पक्राउ गरी पोखरा पुर्याइएका रास्वपा सभापति लामिछानेलाई यसअघि दुई पटकसम्म म्याद थप गरी कार्तिक १५ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको थियो।
तर, हिरासतको म्याद सकिएलगत्तै तिहारको पर्व विदाका कारण प्रहरीले उनलाई आज अदालतमा पेश गरी १० दिनको म्याद दिएपछि सम्भवत् यो म्याद कार्तिक १६ गतेदेखि नै लागू हुनेगरी १० दिनको समय हुनेछ।
लामिछानेलाई बुटबलको सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पनि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको छ। यसका बाबजूद उनलाई पोखरास्थित जिल्ला प्रहरी कार्यालयमै राखेर सहकारीको रकम हिनामिना, संगठित अपराध तथा सम्पत्ति सुद्धिकरण लगायतका विषयमा छानविन र अनुसन्धान चलाईरहेको छ।
उता, लामिछानेको पार्टी रास्वपाका नेता, कार्यकर्ताले पोखरामा भेला भएर उनको पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन्। यसरी विरोध प्रदर्शन गर्ने क्रममा आजको प्रदर्शनमा प्रदर्शनकारीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले चार राउण्ड अश्रुग्याँस सेल प्रहार गर्नुका साथै आधा दर्जन बढी कार्यकर्ता र समर्थकलाई नियन्त्रणमा लिएको बताइएको छ।