विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुने निश्चित भएको छ।
मंगलबार भएको निर्वाचनको प्रारम्भिक मतगणनाको पछिल्लो परिणाम अनुसार, डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै जित नजिक पुगेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै जितको घोषणा नै गरिसकेका छन्।
यो समाचार तयार पार्दासम्म राष्ट्रपति निर्वाचित हुन ५३८ इलेक्ट्रोल भोटमध्ये २७० आवश्यक पर्ने भएपनि ट्रम्पले अहिलेसम्म चार भोट कम अर्थात २६६ इलेक्ट्रोल भोट प्राप्त गरिसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।
चार वर्षअघि डेमोक्रेटिक पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडनसँग पराजित हुँदा निरन्तर दोस्रो कार्यकालका लागि राष्ट्रपति हुनबाट बञ्चित भएका ट्रम्प यसपटक जित हाँसिल गर्दै दोस्रो कार्यकालका लागि अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका हुन्।
ट्रम्पको विरुद्धमा डेमोक्रेटिक पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले अहिलेसम्म जम्मा २१९ इलेक्ट्रोल भोट प्राप्त गरेको समाचारहरुले बताएका छन्।
राष्ट्रपतिको निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्ने अनुमान गरिएका सात स्वीङ राज्यहरुमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा ट्रम्पले बाजी मारेका छन् भने अन्य चार राज्यहरु विस्कन्सन, मिचिगन, एरिजोना र नाभाडामा पनि ट्रम्पले अग्रता लिएपछि चुनावी परिणाम ट्रम्पको पक्षमा जाने लगभग पक्का भएको हो।
उता अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सपना बोकेर चुनावी मैदानमा उत्रिएकी कमला ह्यारिसले आफ्ना समर्थकहरुलाई सार्वजनिक सम्बोधन गर्ने भनिएपनि पछिल्लो समय उनले हारलाई स्वीकार गर्दै कुनै सम्बोधन नगर्न सक्ने समाचार आइरहेका छन्।
विवादस्पद व्यक्तिका रुपमा परिचित ट्रम्पको विजयी यात्राका लागि वर्तमान राष्ट्रपति जो बाइडनको चारवर्षे शासनकालमा भएको कमिकमजोरी र आर्थिक समस्यासँगै चुनावी प्रतिस्पर्धाको प्रारम्भिक रेसमा रहेका बाइडनको उमेर र कमजोर स्वास्थ्य अवस्थाका कारण बिचमै चुनावी मैदानबाट बाहिर हुनु र बिचमा ह्यारिसको उम्मेदवारी पनि मुख्य कारण भएको राजनीतिक विश्लेषकहरुले गरिरहेका छन्।