हिमाल दैनिक
कोशीका कानून मन्त्री अधिकारीद्वारा पदबाट राजीनामाको घोषणा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले मन्त्रीपदबाट राजिनामा दिएका छन्।

प्रदेश सरकार र संघिय सरकारबाट अनुमति नलिई जापान भ्रमणमा गएको विषय सार्वजनिक भएसँगै उठेको विवादपछि आफुले नैतिकताका आधारमा राजिनामा दिएको मन्त्री अधिकारीले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिए।
उनले आफुबाट सामान्य त्रुटी भएको भएपनि नैतिक विषय उठिसकेपछि राजिनामा दिएर मार्गप्रशस्त गरेको बताए।

उनले राजिनामाका लागि कतैबाट आफूलाई राजनीतिक दबाब नआएको बरु नैतिकताको खडेरी लागेका बेला आफुले नैतिकता देखाएर राजिनामा दिएको दाबी गरे।

जापानको टोकियो महानगरपालिकाको व्यक्तिगत निमन्त्रणामा जापान जान लागेको भएपनि सन्दिग्ध व्यक्तिहरु समेत सो कार्यक्रममा जान लागेको थाहा पाएपछि आफु हङ्कङबाट फर्किएको मन्त्री अधिकारीले बताए।

आफुलाई अक्टोबर ३० देखि नोभेम्बर ३ सम्मका लागि व्यक्तिगत निमन्त्रणा आएको र त्यति बेला प्रदेश क्याबिनेट बस्ने अवस्था नभएकाले आफुले अनुमति नगराएको उनले बताए।

मन्त्री अधिकारीले बुधवार नै मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा पत्र बुझाईसकेको बताइएको छ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update