हिमाल दैनिक
एमालेको सडक प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

सत्ताको नेतृत्वकर्ता प्रमुख दल नेकपा एमालेको जनप्रदर्शनका कारण शुक्रबार उपत्यकाको सवारी आवागमन अस्तव्यस्त हुन पुगेको छ।

सत्तासाझेदार दल नेपाली कांग्रेसको साथ र समर्थनमा बनेको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाही जनचाहना बमोजिम गति लिन नसकेको भन्दै जनतामा बढ्दो असन्तुष्टिका बाबजूद एमाले पार्टीले आज राजधानीस्थित दरबारमार्गमा जागरण सभाको नाममा आयोजना गरेको सभाअघि उपत्यकाका विभिन्न स्थानबाट निस्किएको पार्टी नेता, कार्यकर्ताको जुलुसले सडक कब्जा गर्दा बिहानैदेखि काठमाडौं शहरभित्रको सडकमा ट्राफिक आवागमन मात्रै प्रभावित भएन।

सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी, स्कूल तथा कलेज हिँडेका विद्यार्थीहरु समेत निर्धारित समयमा सडकको अवरोध छिचोलेर गन्तव्यमा पुग्नै सकेनन्।

यतिसम्मकी कतिपय स्थानमा विरामी बोकेर साइरन बजाउँदै कुदिरहेका एम्बुलेन्सदेखि उपत्यकाभित्र शान्ति सुरक्षा र अमनचयन कायम गराउने दायित्व बोकेका प्रहरी तथा सुरक्षाकर्मीका सवारी साधनसमेत सडक जाममा घण्टौँसम्म रोकिन बाध्य भएका थिए।

सत्ताको नेतृत्व गरिरहेको दल एमालेले समाजमा फैलाइएको अराजकता, एमाले तथा सरकारमाथि गरिएको भ्रामक प्रचार चिरेर उपत्यकावासीमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जागरण सभा आयोजना गरिएको दाबी गरेको छ।
जागरण सभाअघि एमालेका नेता कार्यकर्ताहरुले बिभिन्न स्थानबाट र्याली निकालेर दरवारमार्ग पुगेका थिए।

उपत्यकाका तीन जिल्ला तथा देशभरीका विभिन्न सम्पर्क मञ्च तथा जनवर्गिय संगठनका सदस्यहरु सहभागी उक्त सडक प्रदर्शन र सभामा सहभागी हुनु अघि भद्रकालीबाट सुरु भएको ¥याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत भएको छ।

उता कुनै समय प्रधानमन्त्री ओलीले नै निक्कै पुल्पुल्याएर पार्टी केन्द्रीय सदस्यसम्म मनोनित गरी चर्चामा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकहरुले पनि कोटेश्वरमा विरोध सभा आयोजना गर्दा भक्तपुरदेखि कोटेश्वरहुँदै उपत्यकाका विभिन्न स्थानमा कामकाजका लागि आउने सर्वसाधारण ट्राफिक जामका कारण समस्यामा परेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update