हिमाल दैनिक
वर्तमान सत्ता समिकरणलाई ०८४ सम्म कसैले हल्लाउन सक्दैनः ओली

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समिकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गर्दै वर्तमान सत्ता समिकरण ०८४ को निर्वाचनसम्मै कामय रहने बताएका छन्।

नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको समीकरणले पुरै समय काम गर्ने स्पष्ट पार्दैै कसैले चाहेर पनि वर्तमान सत्ता समिकरणलाई हल्लाउन नसक्ने दावी समेत गरे।

उनले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्ककासाथ अघि बढेको बताए।

विशेषगरी पछिल्लो समयमा आएर प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि चिनियाँ आर्थिक नीतिमा अघि सारिएको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआइ)को ऋण सहायता लिने वा नलिने विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेससँगको असहमतिका कारण वर्तमान सत्तासमिकरण धेरै लामो समय जान नसक्ने हल्ला चलिरहेकै बेला प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।

उनले कांग्रेससँगको गत असारमा भएको सहमति बमोजिम आफू ०८३ साल असारसम्म सरकारको नेतृत्वमा रहने र त्यसपछि सहमति बमोजिम नै सत्ताको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए।

उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने पनि बताए।

नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पुरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पारे।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको पनि बताए।

देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताए।

त्यस्तै प्रधानमन्त्री ओलीले कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने प्रतिबद्धता व्यक्त गर्दैै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि कडा कटाक्ष गर्न भ्याए।

लामिछानेका पछिल्ला भनाइहरुप्रति लक्षित गर्दै ओलीले आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने प्रवृति सह्य नहुने बताए।

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने दाबी गरे।

अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने बताउँदै उनले देश बनाउने अभियानमा लाग्न र पार्टीभित्र कुनै गुटबन्दी नगरि अघि बढ्न एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update