हिमाल दैनिक
रवि लामिछानेको शहर परिक्रमा जारी, वयानका लागि चितवन पुर्याइयो

बिभिन्न सहकारीको ऋण तथा बचत हिनामिना तथा संगठित अपराध लगायतका गैरकानूनी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक रवि लामिछानेलाई चितवन लगिएको छ।

सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरीले मंगलबार काठमाडौंबाट चितवन लगेको हो।

गत कार्तिक महिनाको सुरुमा पोखरास्थित सूर्यदर्शन ऋण तथा बचत सहकारीको रकम हिनामिनामा संगठित अपराध गरेको लगायतका आरोपमा पक्राउ गरी अनुसन्धान र वयानका लागि कास्की जिल्ला प्रहरीले पक्राउ गरी हिरासतमा राखेका लामिछानेलाई केही दिनअघि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी ऋण तथा बचत सहकारीको रकम हिनामिनाको विषयमा वयानका लागि राजधानी ल्याइएको थियो।

काठमाडौंमा वयान सकिएलगत्तै उनलाई आज बिहान बुद्द एयरको विमानबाट चितवन पुराइएलगतै बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकीलको कार्यालय लगिएको छ।

चितवनको साहारा ऋण तथा बचत सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगिएको हो। उक्त सहकारीबाट रु ४२ करोड रकम पाँचवटा कम्पनीमा गएको प्रहरीले जनाएको छ।

हिनामिना भएको रकम मध्ये रु १० करोड ८० लाख तत्कालीन गोर्खा मिडिया नेट्वर्क प्रा.लि.का संचालक जिबी राईसहित लामिछानेको निजी कम्पनीमा गएको देखिएको प्रहरीले जनाएको छ।

लामिछानेसहित उनका अन्य व्यवसायिक साझेदार छविलाल जोशी र कुमार रम्तेल पनि अनुसन्धानका लागि थुनामै रहेपनि राई भने फरार रहेका छन्।

लामिछानेलाई चितवन पुराउदा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए। मंसिर ७ गते चितवनमा रविबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update