हिमाल दैनिक
माओवादीकाे निश्कर्षः उपनिर्वाचनको परिणामले आगामी निर्वाचनमा एक्लै भिड्ने आधार दियो

नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनले पार्टीलाई आगामी आमनिर्वाचन एक्लै लड्ने आधार तयार भएको निश्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले एकतावद्ध भएर उपनिर्वाचनमा होमिएका कारण सकारात्मक र उत्साहजनक परिणाम आएको विश्लेषण गर्दै आगामी निर्वाचन एक्लै लड्ने आधार तयार भएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

आगामी निर्वाचनमा पार्टीको आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको निष्कर्ष रहेको उनले बताए।

उनले बृहत बामपन्थी एकीकरणका लागि थप आधार समेत उपनिर्वाचनको परिणामले दिएको दाबी गरे।

आगामी २७ गते स्थायी कमिटीको बैठक बस्ने र उपनिर्वाचनका बारेमा थप समिक्षा गर्ने जानकारी पनि उनले दिए।

बैठकले पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभालाई प्रभावकारी बनाउने र केन्द्रीय नेताहरु सहभागी हुने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको र सेवा प्रवाह र सुशासनको पक्षमा कमजोर प्रस्तुति देखाएको निष्कर्ष पनि निकालेको छ।

प्रवक्ता सापकोटाले विद्युत प्राधिकरणले गरिरहेको काममा समेत सरकारले हस्तक्षेप गर्न खोजेको र भ्रष्टाचारीका साथै बिचौलियालाई जोगाउने प्रयास भएको आरोप लगाए।

उनले स्थायी समिति र केन्द्रीय समिति बैठकमा बिस्तृत रुपमा छलफल गरेर थप रणनीतिकासाथ अघि बढ्ने उल्लेख गरे।

सापकोटाले सरकार भत्काउने खेलमा माओवादी नलाग्ने स्पष्ट पार्दै माओवादी बैठकले मंसिर २३ गते हुने भनिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हालका लागि स्थगीत गर्ने निर्णय समेत गरेको बताए।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update