सहकारीको रकम हिनामिना र संगठित अपराध लगायतका विषयमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला ऋण तथा बचत सहकारीको करोर्डौ रुपैयाँ बचत तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित जिबी राई, पूर्व डिआइजी छविलाल जोशी लगायतको समूहले संगठित रुपमा अपचलन गरी अपराध गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछानेको हिरासतको बसाइ थप चार दिन लम्बिएको हो।
आइतबार कास्की जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा १३ दिनको हिरासतको अनुमति माग्दै अदालतमा पेश गरेको थियो।
तर, जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रविसहित हिरासतमा रहेका जोशी, गीता पछाई र रामबहादुर खनाललाई चार दिन हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
उक्त समूहले विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको आरोप संसदीय छानविन समितिले लगाउँदै यसबारे अनुसन्धान तथा कारबाहीका लागि निर्देशन दिएपछि प्रहरीको अपराध अनुसन्धान व्यूरोले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।