हिमाल दैनिक
कार्यसम्पादनबाट कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठको नाम अनुमोदित, केन्द्रीय समितिबाट अनुमोदन हुन बाँकी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि रिक्त रहँदै आएको पार्टीको केन्द्रीय कोषाध्यक्ष पदमा उमेश श्रेष्ठको नामलाई अनुमोदन गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाले केही दिनअघि कोषाध्यक्ष पदका लागि श्रेष्ठलाई नियुक्त गर्ने निर्णयसहितको प्रस्तावलाई अनुमोदन गरेको हो।

पार्टीको ०७८ मा सम्पन्न १४औं महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष पद रिक्त रहँदै आएको थियो।
पार्टीको संशोधित विधानको धारा २१ को उपधारा ४ को व्यवस्था अनुसार, केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक पद रहने प्रावधान छ।

अर्थात, सभापतिले कोषाध्यक्ष पदका लागि मनोनयनका लागि राखेको प्रस्ताव केन्द्रीय कार्यसमितिका निर्वाचित बहुमत सदस्यले अनुमोदन गर्नु पर्दछ।

तर, श्रेष्ठको नाम आज अनुमोदन गराउँदा भने केन्द्रीय कार्यसम्पादन समितिबाट गरिएको छ। यसरी विधानमा उल्लेखित व्यवस्था बाहिरबाट निर्णय र अनुमोदन गर्न मिल्ने नमिल्ने सवालमा पार्टीका एक नेताले पार्टी विधानकै धारा २४ को केन्द्रीय कार्यसम्पादन समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी उपधारा १ बमोजिम केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बिचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्न सक्ने व्यवस्था अनुसार भएको जिकिर गरे।

जब कि विधानको धारा २१ को उपधारा ४ बमोजिम कोषाध्यक्षको निर्वाचन केन्द्रीय कार्यसमितिमा निर्वाचित सदस्यहरुले गर्ने भन्ने उल्लेख गरेको आधारमा कार्यसम्पादन समितिमा रहेका सबै सदस्य वा पदाधिकारीहरु महाधिवेशनबाट निर्वाचित मात्र नभई सभापतिले मनोनित गरेका सदस्यहरु पनि रहेका छन्।

तथापि कांग्रेस केन्द्रीय कार्यसमितिमा निर्वाचित वा मनोनित सदस्यहरुको उपस्थिति हेर्ने हो भने, सभापति देउवाले चाहेको प्रस्ताव जुनसुकै समूहबाट पनि अस्विकार हुने स्थिति रहेको छैन।  

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update