हिमाल दैनिक
गृहमन्त्री लेखकको प्रश्नः सहकारीबाट ठगिएका लाखौँ पीडितको चिन्ता छैन, ठगिको आरोपमा अनुसन्धानमा रहेका रविको मानवअधिकार कसरी हनन भयो?

गृहमन्त्री रमेश लेखकले सहकारीको बचत हिनामिना प्रकरणमा प्रहरी अनुसन्धानको प्रक्रियामा रहेका रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको आरोप लगाएका छन्।

मंगलबार सुर्खेतमा पत्रकारहरुसंग कुरा गर्दै लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकीलको कार्यालय घेर्ने काम भएको र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताए।

गृहमन्त्री लेखकले सरकार प्रत्येक व्यक्तिको मानवअधिकारको सुरक्षा, रक्षाका लागि गम्भीर रहेको बताउँदै लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रत्येक नागरिकका हकका बारेमा गम्भीर र सचेत रहेको बताए।

उनले भने, ‘प्रत्येक व्यक्तिको मानवअधिकारको हकको रक्षा हुन्छ, चाहे त्यो प्रहरीको थुनामा रहेको होस् वा कोही मानिस थुनुवाका रुपमा रहेको होस् अथवा कोही मानिस कैदीका रुपमा रहेको होस्, सबै मानिसको मानवअधिकारको रक्षाका बारेमा हामी गम्भीर छौँ।’

सहकारीको बचत हिनामिना तथा संगठित अपराधको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक रवि लामिछानेलाई वयानका लागि विभिन्न जिल्लास्थित सरकारी वकिलको कार्यालयमा वयानका लागि लैजाने र ल्याउने क्रममा राज्य र गृहप्रशासनले उनको मौलिक हक र मानवअधिकारमाथि अतिक्रमण गरेको आरोप रवि र उनको पार्टीका नेता, कार्यकर्ताले लगाउँदै सरकारी कदमको चर्को आलोचना गरिरहेको बेला मन्त्री लेखकले त्यसको ठाडो प्रतिवाद गरे।

उनले भने, ‘कसैको मानवअधिकारको हनन भएको छैन’

लामिछानेको पक्राउ लगत्तै देशका विभिन्न शहरमा उनको पार्टीका नेता, कार्यकर्ता र समर्थकले गर्दै आएको नारा, जुलुस र विरोध प्रदर्शनसँगै सुरक्षाकर्मीसँगको मुठभेडप्रति लक्षित गर्दै उनले भने, ‘तर, एउटा कुरा पछिल्लो समयमा के देखिइरहेको छ भने, लाखौँ लाख मानिसको सहकारीमा जम्मा गरेको करोडौँ रुपैयाँ रकम हिनामिना भो, अपचलन र दुरुपयोग भयो। गरिव नेपाली नागरिकको पैसा लुटिएको छ, ठगिएको छ। त्यसका बारेमा अनुसन्धान भइराख्या छ। फेरि अनुसन्धान एक जना मानिस रविजीमाथि मात्रै भाको होइन।’

सरकारले पछिल्लो समय सहकारीको रकम हिनामिनाको विषयमा अनगिन्ती मानिसहरुको बारेमा अनुसन्धान भइरहेको र पक्राउ परिरहेको उल्लेख गर्दै, ‘तर, एउटा कुनै आपराधिक कार्यमा, सहकारीको रकम ठगी भएको कुरामा अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय घेरेको छ। कहिले सरकारी वकिलको कार्यालय घेरेको छ। कहिले अदालत घेरेको छ,’ चर्को असन्तुष्टि व्यक्त गरे।

रविको पक्षमा दिनहुँ विरोध प्रदर्शन र नारावाजीप्रति लक्षित गर्दै उनले प्रश्न गरे, ‘अनि के यो भिडले हो न्याय गर्ने? भिडले हो निर्णय गर्ने? कि अनुसन्धान त न्यायिक प्रक्रिया र कानूनी बमोजिम होला नि।’ त्यसका लागि प्रहरी, सरकारी वकिलको कार्यालय, अदालत र अदालतले अनुसन्धान गर्ने अनुमति दिएको बताउँदै उनले अदालतको अनुमतिमा अनुसन्धानसँगै अदालतकै निग्रानिमा प्रक्रिया अघि बढिरहेको बताए।

यसका बाबजूद रवि र उनका समर्थकले जारी राखेको विरोध प्रदर्शनको औचित्यमाथि प्रश्न गर्दै भने, ‘अनि अनुसन्धानलाई नै प्रभावित गर्ने र न्याय निरुपणको विषयलाई प्रभावित गर्ने गरी सडकमा आएर हुलहुज्जत गरी विधिको शासनलाई उलंघन गर्ने विषय ठिक हुन्छ? कुनै हालतले पनि ठिक हुन सक्दैन।’

उनले न्यायिक प्रक्रियालाई प्रभावित गर्नेगरी जो कसैले बोलेपनि त्यो कुरा बठिक भएको दाबी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले गरेको कार्य ‘दुभाग्र्यपूर्ण’ भएको बताए।

कानून बमोजिम अनुसन्धान पश्चात अदालतले गर्न सक्ने न्यायिक निरुपण अगावै अहिले नै प्रभावित गर्ने भनि प्रश्न उठाए।

कुनै पनि नागरिकको मानवअधिकार सरकारले हनन नगरेको र त्यसको रक्षाका लागि गम्भीर रहेको भनाई दोहोर्याउँदै उनले भने, ‘तर, कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र सडक भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक हो। यो कसैका हकमा पनि ठिक होइन।’

गृहमन्त्री लेखकले एमाले–कांग्रेस लगायत अन्य केही दल सहभागी सरकारबीच सुमधुर सम्बन्ध रहेको र सहमति अनुसार नै वर्तमान सरकार अघि बढ्ने बताए।

साथै उनले विगतको सहमतिका आधारमा अबको १९ महिना वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै मन्त्रीहरुको हेरफेरको हल्ला तत्कालका लागि सम्भावना नरहेको बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update