सहकारीको बचत हिनामिना र ठगी गरेको आरोपमा वयानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हवाई मार्गबाट पोखरा लगिएको छ।
तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक लामिछानेसहितको समूहले पर्सास्थित सानो पाइला ऋण तथा बचत सहकारीको रकम हिनामिना गरेको विषयमा वयानका लागि पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो।
पर्सा जिल्ला प्रहरी र सरकारी वकिलको कार्यालयमा वयान लिने क्रम सकिएपछि बुधबार उनलाई वाराको सिमरा विमानस्थलबाट बुद्ध एयरको विमानबाट काठमाडौं ल्याएर पोखरा जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको हो।
लामिछानेसँगै वयानका लागि पर्सा पुर्याइएका छविलाल जोशी लगायतका केही आरोपीहरुलाई सडक मार्गबाटै पोखरा लगिएपनि रास्वपाका नेता, कार्यकर्ता र रविका समर्थकहरुले विभिन्न स्थानमा विरोध प्रदर्शन गरी सहज आवागमनमा बाधा पुर्याउन सक्ने स्थिति बनेपछि प्रहरीले लामिछानेलाई हवाई मार्गबाट पोखरा पुर्याएको हो।
पोखराको सूर्यदर्शन ऋण तथ बचत सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का संचालक तथा रविका व्यवसायिक साझेदार जिबी राई, जोशी, कुमार रम्तेल लगायतको समूहले अपचलन तथा दूरुपयोग गरी संगठित अपराध गरेको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयले कार्तिक पहिलो साता लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी हिरासतमा राखेको थियो।
पटक पटक म्याद थप गर्दै अनुसन्धान प्रक्रिया जारी राखेको कास्की प्रहरीका अतिरिक्त उक्त समूहले बुटबलको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला ऋण तथा बचत सहकारीको बचत हिनामिना गरेको आरोप लागेपछि लामिछाने र जोशीलाई पोखराबाट रुपन्देही, काठमाडौं, चितवन र पर्सा वयानका लागि लगिएको थियो।
राजनीतिक दल खोलेर राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको रुपमा देखिएका लामिछानेको विगतको गतिविधिका कारण उनीमाथि राज्य र गृहप्रशासनले अनुसन्धान प्रक्रिया अघि बढाउँदा रवि र उनको दलका नेता, कार्यकर्ताले यसलाई राजनीतिक प्रतिशोधको आवरणमा सडक प्रदर्शन र नाराबाजी गरिरहेका छन्।
जसको कारण आज पनि रविलाई पर्साबाट काठमाडौं हुँदै पोखरा पुर्याउँदै गर्दा पोखराका सडकमा उनका समर्थकहरु जम्मा भएर विरोध प्रदर्शन र अवरोध गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले पोखराका सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति सहज बनाउने प्रयास गरेको थियो।